१५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या घटनामा संलग्न रहेको आरोप लागेका ६ जनालाई गिरफ्तार गर्न जिल्ला अदालत सुर्खेतले अनुमति दिएको छ । माघ ०५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला अदालतमा गिरफ्तारको अनुमति मागेको थियो । सोही आधारमा अदालतले सोही दिन नै अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण खड्काका अनुसार किटानी उजुरीमा नाम उल्लेख भएकी कालिकोटको महावै गाउँपालिकामा स्थायी ठेगाना भएकी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध गिरफ्तार पूर्जी जारी भएको हो ।
इन्स्पेक्टर कृष्ण खड्कालाई घटनाको अनुसन्धान गर्ने अधिकारी तोकेको छ । प्रहरीले यस अघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते गिरफ्तारको अनुमति लिएको थियो । किटानी उजुरीमा नाम उल्लेख भएका ६ जनालाई गिरफ्तार गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धान प्रक्रिया अगाडी बढेको छ । आरोपितहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छ । १५ वर्षअघि भएको घटना ढिलो जानकारीमा आएपछि अब त्यसलाई टुंगोमा पुर्याउने अनुसन्धान अधिकारी खड्काले बताउनु भयो ।
वीरेन्द्रनगर स्थित जन माध्यमिक विद्यालयमा पढ्दै गरेका राजबहादुर मल्लको २०६५ फागुन २६ गते बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो । हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको उजुरी दिनुभएको थियो । उजुरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ ।
मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित ६ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई जना संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक उजुरी दिनुभएको थियो ।
हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकेपनि अहिलेसम्म कसैलाई गिरफ्तार गर्न सकेको छैन । मृतकका बुवा नन्दबहादुरले १५ वर्षदेखि अदालत र प्रहरी कार्यालय धाउँदा पनि न्याय पाउन नसकेको गुनासो गर्नुभयो ।
