मुस्ताङका जिल्ला सदरमुकाममा रहेका कुनै पनि कार्यालयहरु अपाङ्गमैत्री नहुँदा अपाङगता भएका व्यक्तिहरुले सेवा लिन समस्या हुने गरेको छ ।
घरपझोङ गाउँपालिकाले ७ करोड भन्दा बढी रकम खर्चीएर हालै मात्र निर्माण सम्पन्न गरेको गाउँपालिकाकाे प्रशासकीय भवन अपाङ्ग मैत्री नहुँदा समस्या हुने गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको गाउँपालिकाले आफ्नो भव्य प्रशासकीय भवन बनाउँदा अपाङ्गमैत्री तवरले निर्माण गर्ने तर्फ भने ध्यान नदिएको देखिएको छ । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा जोमसोममा तीन तले पक्की प्रशासकीय भवन निर्माण गरेको छ ।
जिल्लामा भएका अन्य कुनै पनि कार्यालयहरु अपाङ्गमैत्री नहुँदा निकै समस्या हुने गरेको जिल्ला समन्वय समितिका उपप्रमुख एवम् अपाङ्ग संघ मुस्ताङका अध्यक्ष आइतलाल थकालीले बताउनुभयो । अहिले मैले अपाङ्ग संघको कार्यवाहक दिएर समन्वयको उपप्रमुखमा छु तर जिल्लामा भएका संरचनाहरुमा आफ्नो काम लिएर जाने अपाङ्गहरुले सँधै समस्या ब्यहोर्ने गरेको म आफै पनि त्यसको भोगी हुँ ।
बाहिरबाट हेर्दा निकै आर्कषक र भव्य देखिने घरपझोङको प्रशासकीय भवनमा कुनै तालिम तथा गोष्ठि भयो भने ह्वीलचियर जान सक्दैन । एउटा तालिम आयोजना गरेका थियौं, एक जना ह्वीलचियरमा आउनुभयो चार जना भएर उचालेर हल सम्म पुर्याउनु पर्याे – गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेदहरि अधिकारीले भन्नुभयो । यस्तो भव्य संरचना बनाउँदा अपाङ्गता भएका व्यक्तीहरुको ह्वीलचियर माथिल्लो तला सम्मै पुग्ने गरी किन निर्माण गर्न नसकेको होला भन्ने अचम्म मान्नु पर्ने अवस्था छ उहाँले भन्नुभयो ।
घरपझोङ गाउँपालिका भवनमा अध्यक्ष र उपाध्यक्षको फरकफरक कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल, प्रशासकीय प्रमुखको कार्यकक्ष, गाउँपालिका अन्तर्गतका सबै बिषयगत शाखाका अलग÷अलग कार्यकक्ष, स्तनपान कक्ष निर्माण गरिएको भए पनि पुरै संरचना अपाङ्गमैत्री भने निर्माण हुन नसकेको अधिकारीले जानकारी दिनुभयो । ग्राउन्ड फ्लोरलाइ अपाङ्गमैत्री मान्न सकिएला तर पुरै संचना त्यस्तो निर्माण नभएको उहाँले बताउनुभयो ।
घरपझोङले आर्थिक वर्ष २०७७÷०७८ देखि भवन बनाउने काम थालेको थियो । गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजार रुपियाँ लागतमा डाँफे हरि सन्त जेभी कन्ट्रक्सनसंग भवन बनाउने सम्झौता गरेको थियो । घरपझोङको प्रशासकीय भवनमा मुस्ताङ जिल्लाकै ४ स्थानीय तहमा निर्माण भएको प्रशासकीय भवन मध्ये नमूना प्रशासकीय भवन रहेको दावी गरिएपनि अपाङ्गता भएका व्यक्तीहरुको लागि भने अनुकुल रहेकाे छैन।
मुस्ताङको घरपझोङ गाउँपालिका मात्रै नभएर सबै जसो सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएको पत्रकार सुनदेवी रसाइलीले बताउनुभयो । अपाङ्गहरु कुनै पनि कार्यालयमा पुग्दा सहज पहुँच पाउन सक्ने खालका संरचना नै नहुँदा निकै समस्या हुने गरेको उहाँको भनाई छ ।
