धादिङ कारागारमा सजाय भोगिरहेका गल्छी गाउँपालिका-७ का ८१ वर्षीय कृष्णबहादुर परियारको उपचारका क्रममा ०८० पुस १८ गते मृत्यु भएको छ ।
जिल्ला कारागार शाखाका प्रमुख राममणि मिश्रका अनुसार दमको रोगी रहेका परियार अघिल्लो दिनदेखि बिरामी परेको कारागारमा अन्य कैदीले दालको झोल खुवाएपछि बान्ता गरेको अवस्थामा तत्काल उपचारको लागि धादिङ अस्पतालमा लगिएको थियो । उहाँको उपचारको क्रममा पुस १८ मृत्यु भएको हो । घटनापछि शवको पोष्टमार्टम पुस १८ गते धादिङ अस्पतालमा भयो । परिवारले सतगतका लागि सोही दिन शव बुझेर लगेको गल्छी गाउँपालिका-७ का वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।
पाँच वर्षीया बालिकालाई ०८० मङ्सिर ६ गते बलात्कार गरेको भन्दै परियार विरुद्ध पीडित पक्षले मङ्सिर २१ गते इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको थियो । परियारलाई मङ्सिर २० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २० गते धादिङ अस्पतालमा भयो । जिल्ला अदालतको पुस ८ गतेको इजलासले परियारलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।