बालविवाह गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–१ बरहीकी ४५ वर्षीया रेखादेबी राय तथा सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका १९ वर्षीय मिथलेश राय र उनका बुवा ५५ वर्षीय जिलेश्वर रायलाई ०८० पुस १८ गते १ महिना ५ दिनको कैद सजाय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासबाट बालविवाह बदर गर्दै आरोपितहरूलाई कैद सजायको फैसला भएको हो । उनीहरूले जनही ५ हजार रुपियाँ जरिवाना तिर्नुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा जनही २ सय रुपियाँ भर्नुपर्ने फैसला भएको अदालतले जनाएको छ । अन्य आरोपितहरू बालिकाकी सानी आमा छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४३ वर्षीया मीनादेबी राय र फुपाजु ५५ वर्षीय रबिशंकर रायले अभियोग दावीबाट सफाई पाएका छन् ।
१३ वर्षीया बालिकाको २०८० वैशाख २८ गते मिथलेश रायसँग बालविवाह भएको भन्दै छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय राधेश्याम रायले जिल्ला प्रहरी कार्यालयमा वैशाख २८ गते नै उजुरी दिनुभएको थियो ।
बालविवाह हुँदैछ भनी इन्सेक सप्तरी प्रतिनिधिले एसपी नरेन्द्रकुमार कार्कीलाई जानकारी गराए पछि इन्स्पेक्टर राजिब गिरी खटिएर विवाहस्थल पुगेपनि बालविवाह भई बालिकालाई वैशाख २९ गते मिथलेशले घर लगेका थिए । स्थानीय राधेश्याम रायले जिल्ला प्रहरी कार्यालय सप्तरीमा विवाह अगावै वैशाख २८ गते आरोपितहरू विरुद्ध प्रमाणसहित लिखित उजुरी दिनु भएको थियो । विवाहको निमन्त्रण पत्रसहित उपलब्ध गराएको स्थानीय पञ्जिकाधिकारीको कार्यालयको जन्मदर्ता किताबमा बालिकाको जन्म २०६७ भदौ २५ गते उल्लेख छ ।
प्रहरी र इन्सेक प्रतिनिधिलाई बालविवाह बारे सूचना दिएको आरोपमा बालिकाका अभिभावकबाट डाक्नेश्वरी नगरपालिका–३ तरहीका ज्योतिष राय र छिन्नमस्ता गाउँपालिका–१ बरहीका राजु रायले वैशाख २८ गते राति कुटाई समेत खाएका थिए । इन्सेक सप्तरी प्रतिनिधिले वैशाख २९ गते सिडिओ भूपेन्द्र थापा र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयसमक्ष आवश्यक कारवाहीका लागि माँग गर्नुभएको थियो । विवाह पश्चात निवेदकले विवाहको फोटो र भिडिओ समेत पेश गर्नुभयो । जिल्ला प्रहरी कार्यालयले ०८० असार
१ गते मात्र मिथलेश, उनका बुवा जिलेश्वर, बालिकाकी आमा रेखादेबी, सानी आमा मीनादेबी र फुपाजु रबिशंकर रायविरुद्ध बालविवाहको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतबाट आरोपितहरूविरुद्ध असार १७ गते पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला अदालतमा साउन २६ गते अभियोग पत्र दायर भएकोमा भदौ ११ गते हाजिर भएकी आरोपित रेखादेबी न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी छिन् । अदालतमा हाजिर भएका रबीशंकर र मिनादेबी न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशबाट भदौ १९ गते जनही ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् । यसैगरी न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भदौ २५ गते हाजिर भएका जिलेश्वर र न्यायाधीश माधवप्रसाद सुवेदीको इजलाशमा भदौ २७ गते हाजिर भएका मिथलेश जनही ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् । बालिका गर्भवती छिन् ।