ललितपुरको बालकुमारीमा ०८० पुस १३ गते आन्दोलनका क्रममा प्रहरीको गोली र लाठी प्रहारबाट दुई जनाको ज्यान गएको घटनाको विरोध गर्दै माइतिघर मण्डलामा प्रदर्शनमा उत्रिएका सात जनालाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ ।
प्रहरीको गिरफ्तारीमा पर्नेहरूमा, काठमाडौँका ३४ वर्षीय हेमराज थापा, बाग्लुङका ३२ वर्षीय सोम शर्मा, बझाङका २७ वर्षीय बिप्लव खड्का, बाजुराका ३० वर्षीय खेमराज साउँद, जाजरकोटका २३ वर्षीय कमल सन्ज्याल, कैलालीका २३ वर्षीय सुनिल खड्का, रुपन्देहीका ३० वर्षीय डा. निकोलोस भुषाल रहेका छन् । गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।
दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूले पुस १३ गते बालकुमारीमा गरेको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी भएको थियो । उक्त स्तिथिलाई नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको गोली लागेर अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाह ठकुरीको मृत्यु भएको थियो भने प्रहरीले प्रहार गरेको लाठी लागेर दैलेखको महाबु गाउँपालिका-६ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

