INSEC Online

📅 २०८३ जेष्ठ २१

चौतारा कारागारका दिर्घरोगी बिरामीहरूमा स्वास्थ्य उपचारको समस्या

चौतारा कारागारमा बन्दी जीवन बिताइरहेका आठ जना दिर्घरोगी बिरामीहरूलाई जेलभित्र स्वास्थ्यकर्मीको अभावले स्वास्थ्य उपचारमा समस्या भएको छ ।

जेलभित्रका कैदिबन्दीहरूको स्वास्थ्य जाँच गर्न चौतारा कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि रिक्त रहेको धेरै वर्ष भयो । कारागार प्रशासनले रिक्त दरबन्दी पूर्ति गर्न नसक्दा कैदी बन्दीहरूमा समस्या भएको कारागारका कैदी भरत दङ्गालले बताउनु भयो ।

सात जना महिला राख्न निर्माण गरिएको चौतारा कारागारमा हाल १ सय १७ जना कैदिबन्दी राखिएको छ । क्षमता भन्दा धेरै राखिएका कैदिबन्दीहरू मध्ये आठ जना दिर्घरोगी बिरामी छन् र उनीहरूले दैनिक नियमित औषधि सेवन गर्नुपर्छ ।

एसिड प्रहार गरेको आरोपमा सुनकोशी गाउँपालिका-१ घर भई कारागारमा थुनुवाको रूपमा रहेका २४ वर्षीय भरत पहरी छारे रोगका बिरामी हुन्, उहाँलाई दैनिक औषधि खानुपर्छ । तर समयमा औषधि नपाउँदा समस्या भएको उहाँको भनाई छ ।

त्यसैगरी मेलम्ची नगरपालिका-१० स्थायी घरभएका ५२ वर्षीय काले दमाई, लिसङ्खुपाखर गाउँपालिका-१ घरभएका बुद्धलाल लामा, त्रिपुरासुन्दरी गाउँपालिका-१ घरभएका गान्बा कामी, बलेफी गाउँपालिका-२ का टङ्कबहादुर भण्डारी, सुनकोशी गाउँपालिका-७ घरभएका रबिन्द्र कार्की मधुमेह र उच्च रक्तचाप तथा कोल्डस्ट्रोलका रोगी छन् । त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिका-६ का बिनय लामा, सुनकोशी गाउँपालिका-५ का डम्बर भूजेल मधुमेह रोगी छन् । बिरामीहरूलाई समयमा उपचार तथा औषधि नहुँदा समस्या भएको उच्च रक्तचापका रोगी काले दमाइले बताउनु भयो ।

कारागार भित्र बसेका रोगी बिरामीहरूलाई उपचारको लागि चौतारा अस्पताल वा जेलसारी गरेर काठमाडौँ पठाउने गरिएको जेलर अनिल बुढाथोकीले बताउनु भयो । कारागार कार्यालयको तर्फबाट कारागार विभाग मार्फत लोकसेवा आयोगमा पटक पटक एक जना स्वास्थ्य कर्मीको माग गरी पठाए पनि पूर्ति नभएको कारागार कार्यालयका सूचना अधिकारी गौरव श्रेष्ठले बताउनु भयो ।

लोकसेवा आयोगबाट यो वर्ष स्वास्थ्यकर्मीको नयाँ विज्ञापन भएको छ । यस वर्ष चौतारा कारागारमा एक जना स्वास्थ्यकर्मीको पूर्ति हुन्छ की भन्ने आशा लागेको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो