INSEC Online

📅 २०८३ जेष्ठ २१

राज्य र राजनीतिक दलले निर्णय कार्यान्वयन नगरेको सहिद परिवारको गुनासो

दुई वर्षअघि सिमाङ्कनमा असन्तुष्टि राख्दै भएको आन्दोलनको क्रममा ज्यान गुमाएका सहिद परिवारले आफुहरूसँग गरेको सहमति राज्य र राजनीतिक दलले कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

सहिद परिवारका आफन्तले इन्सेककर्मीसँगको भेटमा यस्तो गुनासो गरेका हुन् । ०७२ साउन २१ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको सिमाङ्कन विरूद्ध गरिएको आन्दोलनको तेस्रो दिन प्रहरीको गोलीबाट ज्यान गुमाएका सहिद परिवारका आफन्तसँग राज्य र राजनीतिक दलहरूले गरेको सहमतिमा सहिद परिवारका एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्ने, सहिद स्मारक निमार्ण गर्ने र सहिद स्मृति प्रतिष्ठान स्थापना गर्ने लगायतका निर्णय गरिएपनि कुनै पनि निर्णय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।

‘त्यतिखेर तपाईहरूले राखेका सबै माग पुरा गर्छौँ । शव उठाइदिनुहोस भनी अनु्रोध गरे । हामीले केहीदिन अटेर गर्दा ती निर्णय गरिएको हो । तर, अहिलेसम्म कार्यान्वयन गर्नेतर्फकसैले चासो दिएनन् ।’-सो आन्दोलनको क्रममा ज्यान गुमाएका याम विसीका बुबा शेरबहादुर विसीले भने-‘निर्णय कार्यान्वयन गर्न त परै जाओस यस बारेमा कुरा समेत कसैले उठाउँदैनन् ।’ राज्य र राजनीतिक दलहरूले बेवास्ता गरेकै कारण आफ्नै पहलमा सहिद याम विसी स्मृति प्रतिष्ठान खोल्न लागेको शेरबहादुरले जानकारी दिए ।

यस्तै अर्का सहिद टिकाराम गौतमका छोरा अमृत गौतमले जनताको रगतमा ‘होली’ खेल्ने राज्य र राजनीतिक दलहरूले निर्णय कार्यान्वयन नगरेर सो आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदानीको उपेक्षा गरेको टिप्पणी गरे । सो आन्दोलनको क्रममा प्रहरीको गोलीबाट याम विसी, टिकाराम गौतम र गोपालसिं रजवारको घटनास्थलमै र जुम्लाका हरिबहादुर कुँवरको उपचारको क्रममा मृत्यु भएको थियो ।

सत्र दिनसम्म चलेको सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारले सात दिनसम्म शव नबुझेपछि जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाज, अधिकारकर्मी र मृतकका आफन्तहरूबिच ०७२ साउन ३१ गते १२ बुँदे सहमति भएको थियो ।

अन्य

भिडियो