जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रावलले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा समाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, औषधि खरिद, कर्मचारीको तलब, सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको, श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुपरेको र गाउँपालिका क्षेत्रमा सञ्चालन भएका विकासका सम्पूर्ण गतिविधिहरू ठप्प भएको वडाध्यक्ष रावलको भनाइ छ ।
पहिले पनि निमित्तकै भरमा सञ्चालन हुँदै आएको तल्कोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच पनि सुमधुर सम्बन्ध नहुनुले सेवाप्रवाहमा समस्या हुँदै आएको स्थानीय सेवाग्राहीको गुनासो छ ।
निमित्त प्रमुखको जिम्मेवारी दिनका लागि पनि गाउँपालिकामा योग्य कर्मचारी नभएका र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारले नमानेकोले समस्या उत्पन्न भएको तल्कोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती भण्डारी कुँवरले बताउनु भयो ।
औषधि खरिददेखि कर्मचारीले तलब खान नपाएको यो समयमा तत्काल प्रमुख प्रशासकीय अधिकृत पाउन मुस्किल देखिएको भए पनि प्रयास भइरहेको गाउँपालिकाका उपाध्यक्ष भण्डारीले बताउनु भयो ।
तल्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव दशैं विदामा घर गएदेखि कार्यालयमा नफर्कदा तल्कोट गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको छ ।