INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र

चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको राससले जनाएको छ ।

भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । उनका अनुसार वर्षाले प्रभावित हुनसक्ने भएकाले मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ ।

मतदानस्थलको १ सय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर कर्मचारीले आवश्यक तयारी गरिरहेको घिमिरेले जानकारी दिए । निर्वाचनका लागि साउन १८ गतेदेखि नै यहाँ मौनअवधी सुरु भएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार साउन १९ गते हरेक मतदान स्थलमा मतपत्र पुर्‍याइने छ ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा ६ ओटा मतदान केन्द्र रहेका छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा १ हजार २ सय ४८, जीवनज्योति स्कुल गुञ्जनगरमा १ हजार ३ सय ६ र शारदानगर माविमा १ हजार २ सय ४३ गरी कुल ३ हजार ७ सय ९७ मतदाता छन् ।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर-१९ को विषयमा सर्वोच्च अदालतले साउन १५ गते निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि साउन २० गते निर्वाचन हुन लागेको हो ।

 

अन्य

भिडियो