सुरक्षाको चुस्त व्यवस्थापन, सुरक्षाकर्मी र आमरुपमा दुवैपक्षका प्रदर्शनकारीको संयमतताका कारण प्रदर्शन सामान्यत शान्तिपूर्ण रहेको अनुगमनका क्रममा पाएको इन्सेकले जनाएको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मङ्सिर ७ गते साँझ जारी विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्षले खेलेको भूमिकाको सराहना गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ– नेपालका कार्यकर्ता र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान– नेपाल (दुर्गा प्रसाईका) समर्थकले मङ्सिर ७ गते काठमाडौँमा गरेको प्रदर्शनको इन्सेकले अनुगमन गरेपछि कार्यक्रम शान्तिपूर्ण भएको जनाएको हो ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले बल्खु क्षेत्र तथा तीनकुने क्षेत्रमा अनुगमन गरेको थियो । टोलीमा इन्सेकका अध्यक्ष अर्यालसहित सूचना अधिकारी कृष्ण गौतम, मानव अधिकार प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेल, इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिना र इन्सेकका उपत्यका प्रतिनिधि विमल पौडेल सहभागी थिए ।

अनुगमनका क्रममा पाइएका तथ्यहरू
- बिहान १० बजेसम्म, तीनकुने, बल्खुलगायतका स्थानहरूमा प्रदर्शनकारीहरू जम्मा भइसकेका थिएनन् । ११ बजेपछिमात्रै दुवै क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए ।
- तीनकुने, कोटेश्वर, बल्खु, कलंकी लगायतका क्षेत्रमा ठूलो संख्यामा प्रहरीहरू व्यारिकेटसहित तैनाथ रहेका थिए ।
- प्रदर्शन शुरु हुनु अगावै बल्खुमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुवैपक्षबीच ढुंगा हानाहान भए पनि थप अप्रिय घटना भएन ।
- कलंकीबाट बल्खु र बल्खु हुँदै कालीमाटी र सानेपातर्फ जाने यातायातका साधन रोकिएका थिए ।
- ठूलो संख्यामा रहेका दुर्गा प्रसाई समर्थक समूहका प्रदर्शनकारी बल्खुबाट कालीमाटी प्रवेश गर्न खोज्दा प्रहरीले पानीको फोहोराका साथै पाँच राउण्ड अश्रुग्याँस प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर पारेको थियो । दुर्गा प्रसाईँ लगायतको मन्तव्यपछि प्रसाई समर्थक प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि भएको झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा चट्टान थापा, कमल शाही, लोकराज जोशी , शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक घाइते भएका छन् । घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, झडपमा नेपाल प्रहरीका जवान पनि घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।
- दुर्गा प्रसाई समर्थक समूहले देव्रे छातीमा श्रीपेच अङ्कित RTF लेखिएको रातो रङको टिसर्ट प्रदर्शनकारीलाई बाँडिरहेको देखियो भने युवा संघको प्रदर्शनका अधिकांश सहभागीहरूले सो संगठनको लोगो र नाम भएको क्याप लगाएको पाइयो ।
- दुवै प्रदर्शनमा नेपालको झण्डा प्रयोग गरिएको थियो ।
