INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीलाई सास्ती

अपिहिमाल गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरुमा एक महिनादेखि सिटामोल लगायतका औषधिहरुको अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । दशैँ अगावै सिटामोल सकिए पनि ढुवानीमा ढिलाई भएको कारण आफूहरुले सास्ती खेप्नु परेको स्थानीयहरुले गुनासो गर्नुभएको छ ।

स्वास्थ्य संस्थामा औषधि नहुँदा बिरामीले रित्तो हात फर्किनुपरेको अपिहिमाल गाउँपालिका–४ का कल्यानसिंह बोहराले बताउनु भयो । बिरामीले सामान्य टाउँको दुखेर स्वास्थ्य संस्थासम्म पुग्दा पनि सिटोमाल पाउँदैनन्, उहाँले भन्नु भयो, सरकारको पहिलो प्राथमिकता औषधि हुनु पर्ने हो ।

औषधिका लागि बिरामीले नीजि मेडिकल धाउनुपरेको अपिहिमाल गाउँपालिका–२ का धाना कार्कीले बताउनु भयो । स्वास्थ्य चौकीमा औषधि अभाव भएको भन्छन्, मौसममा आएको परिवर्तनका कारण बिरामी बढ्दै गएको उहाँको भनाइ छ । चिसोका कारण टाउँको दुख्ने, ज्वरो आउने बिरामी बढेका छन् ।

स्वास्थ्य चौकी, खण्डेश्वरीका प्रमुख लालु रोकायाले एक महिना जति औषधि अभाव भए पनि केही दिन अघि स्वास्थ्य संस्थामा औषधि आइसकेको बताउनु भयो । हामीले स्थानीय तहमा औषधि अभाव भएको भनेर पहिले नै जानकारी गराएका हौँ उहाँले भन्नु भयो, दशैँमा विदा भएका कारण जिल्लाबाटै पाइने औषधि पुग्नमा ढिलाई भयो । अहिले अरुले भने जस्तो सिटोमोलको अभाव नभएको उहाँले बताउनु भयो ।

अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिह धामीले अहिले गाउँपालिका क्षेत्र भरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा सिटामोल पठाइएको बताउनु भयो । केहि दिन समस्या भएको थियो । लामो समयदेखि अभाव भएको होइन्, उहाँले भन्नु भयो, जिल्लाबाट पुग्ने वित्तिकै सबै ठाउँमा पुर्‍याइसकेका छौँ ।

अपिहिमाल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामसिह धामी केही दिन स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको भए पनि अहिले सबै स्वास्थ्य संस्थामा सिटामोलगायतका औषधिहरु उपलब्ध रहेकोले स्थानीयहरुले समस्या भोग्नु नपर्ने बताउनु भयो ।

अन्य

भिडियो