अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलाई ०८० कात्तिक २१ गते पेट्रोल छर्किएर ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले अमरगडी नरपालिका–५ बागबजार निवासी महाकालि ट्रेडर्सका सञ्चालक तिर्थ भण्डारीलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।
सडक बिस्तारका क्रममा बिबाद उत्पन्न भएको र सोही क्रममा आरोपित भण्डारीले गाडीबाट पेट्रोल निकालेर नगरपालिकाका प्रमुखको ज्यान मार्ने प्रयास गरेपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर कुसुम नायकले बताउनु भयो ।
जिल्ला सदरमुकाम बागबजारमा सडक फराकिलो बनाउन सडकमा पर्ने जग्गाको मुआब्जा समेत सरकारले वितरण गरिसकेकोले सडक क्षेत्रका संरचना भत्ताउने क्रममा महाकाली ट्रेडर्सका सञ्चालक भण्डारीले गाडीबाट पेट्रोल निकाली सलाई कोरेर आगो लगाई ज्यान मार्ने प्रयास गरेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएको अमरगडी नागरपालिकाका प्रमुख जोशीले बताउनु भयो ।
सडकको क्षेत्राधिकार १५ / १५ मिटर दायाँ बायाँ र व्यक्तिगत एवम् व्यापारिक प्रायोजनका लागि पर्ने ६ / ६ मिटर दायाँ / बायाँ जग्गा छोड्नुु पर्ने प्रावधान रहेको भए पनि बागबजार क्षेत्रको भूगोललाई मध्यनजर गरी घरधनीलाई तीन / तीन मीटर दायाँ बायाँ सेट ब्याग छोड्न अनुरोध गर्दा उल्टै ज्यान मार्ने प्रयास भएको अमरगढी नगरपालिका प्रमुख जोशीको भनाइ छ ।
सरकारले मुआब्जा वितरण गरिसके पनि घरमालिक र व्यापारीहरुले पुरानै सडकसम्म व्यापार गर्दै आइरहेका थिए । १५ / १५ मिटर सडक दायाँ / बायाँ खाली गर्न अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले बारम्बार सूचना जारी गरेको भए पनि घरमालिक र व्यापारीहरूले अटेरी गरेपछि कात्तिक २१ गते अवैध संरचना हटाउन अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले जोडर चलाएको थियो ।