INSEC Online

📅 २०८३ श्रावण ६

पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रसङ्घ महासचिव गुटेरेसको आग्रह

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ०८० कात्तिक १४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्दै द्वन्द्वपीडितको पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुङ्ग्याउन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । गुटेरेसले समावेशी र पीडित केन्द्रित भएर मात्रै सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सकिने बताउनु भएको हो ।

सम्बोधनका क्रममा गुटेरेसले नेपालले शान्ति प्रक्रिया अन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा खुसी व्यक्त समेत गर्नुभयो ।

नेपालले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको उल्लेख गर्दै महासचिव गुटेरेसले भन्नुभयो, ‘तपाईँहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सङ्क्रमणकालीन न्यायका प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया हो, यो सजिलो भने छैन ।’

अन्तर्राष्ट्रिय मापदण्डहरू सर्वोच्च अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसङ्घ तपाईंहरूलाई सहयोग गर्न तयार रहेको जनाउँदै गुटेरेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सवालमा नेपाल एक्लो नभएको समेत बताउनु भयो ।

अन्य

भिडियो