कोशी प्रदेशका १४ ओटा जिल्लामा ०८० असोज मसान्तसम्म ३५ हजार १ सय ८७ जनामा डेङ्गीको सङ्क्रमण र १६ जनाको मृत्यु भएपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।
डेङ्गीका कारण सुनसरीमा १३ जना र झापामा तीन जना गरी १६ जनाको मृत्यु भइसकेको छ ।
डेङ्गी सङ्क्रणको जोखिम उच्च भएपछि रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार ०८० असोज मसान्तसम्म ताप्लेजुङ्गमा ४० जना, पाँचथरमा ७ सय २० जना, इलाममा ६ सय जना, मोरङ्गमा ३ हजार ४ सय १४ जना, सुनसरीमा १९ हजार ८ सय ५० जना, उदयपुरमा १ हजार २९ जना, धनकुटामा ६ सय २ जना, भोजपुरमा ४ सय ९३ जना, सङ्खुवासभामा १ हजार ४ सय १६ जना, ओखलढुङ्गामा ३१ जना, तेह्रथुममा २ सय ४८ जना, खोटाङमा ८६ जनार सोलखुम्बुमा ४४ जनामा डेङ्गी सङ्क्रणको पुष्टि भएको छ ।
कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण उच्च देखिन थालेपछि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले सम्बन्धित सरोकारवाला र आफ्ना मातहतका केन्द्रहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको स्वास्थ निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनु भयो ।
विगतका वर्षहरूमा डेङ्गी बिरामीहरूका लागि प्रयोग गरिने टेष्ट किट अभाव देखिएकोमा यस पटक डेङ्गी नियन्त्रणका लागि किटको अभाव हुन नदिनका लागि तीन तहका सरकारसँग समन्वय गरिएको स्वास्थ्य तथा आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डाक्टर वीरेन्द्रकुमार मण्डलले बताउनु भयो । महाशाखामा उपलब्ध भएको ५ हजार ३ सय २५ थान किट विभिन्न ठाउँबाट माग भएअनुसार आपूर्ति गरिएको डाक्टर मण्डलले बताउनु भयो
मोरङमा डेङ्गीको सङ्क्रमण देखिएपछि विराटनगरमहानगरले स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिम दिएको महानगर स्वास्थ्य सेवा महाशाखा प्रमुख हैदर अलीले बताउनु भएको छ ।
चिकित्सकका अनुसार डेङ्गीको ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेङ्गीका प्रमुख लक्षण हुन् ।
चिकित्सकका अनुसार डेङ्गी सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या ६ हजार ७ सय ३१ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ०८० असार ३१ गतेदेखि असोज ३० गतेसम्म डेङ्गी सङ्क्रमितको संख्या ६ हजार २ सय ७४ पुगेको हो । हालसम्म जिल्लामा डेङ्गी परीक्षणका लागि १० हजार ६ सय ४९ ओटा किट खर्च भइसकेको छ । पछिल्ला दिनहरूमा डेङ्गी सङ्क्रमितको संख्या घटेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका किटजन्य फोकल पर्सन रामकुमार लामाले बताउनु भयो । लेटाङ र पथरी शनिश्चरे नगरपालिकामा यो वर्ष डेङ्गी सङ्क्रमित धेरै पाइएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितको सख्या ४४ पुगेको छ । जिल्लामा ०८० असोजयता डेङ्गी सङ्क्रमण तीव्र गतिमा फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सौजन सिग्देलले बताउनु भयो । जिल्लामा असोज मसान्तसम्म २३ जना पुरूष र २१ जना महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जसमा सोलुदूधकुण्ड नगरपालिकाका २८ जनालाई सङक्रमण देखिएको छ । सोताङमा १० जना, माप्यदुधकोशीमा दुई जना, नेचासल्यान गाउँपालिकामा एकजना र थुलुङ दुधकोशी गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लामा डेङ्गी रोग परीक्षण गर्ने किट अभाव भएको छ । कार्यालयमा मौज्दात रहेको १० थान किट जिल्ला अस्पताललाई विवतरण गरेसँगै असोज समान्तदेखि किट अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । किटका लागि कोशी प्रदेशमा माग गरे पनि प्रदेशमा अभाव भएकाले पुन केन्द्रमा माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सौजन सिग्देलको भनाइ छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा ०८० असोज ३० गतेसम्म ६ सय जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका ४ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १ सय २८ जना, माई नगरपालिका ३० जना, चुलाचुलीगाउँपालिका १६ जना, देउमाई नगरपालिकाका सात जना, सन्दकपुर गाउँपालिकाका ६ जना, माईजोगमाई गाउँपालिकाका पाँच जना र रोङ गाउँपालिकाका तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका सूचना अधिकृत विमल बरालले बताउनु भयो । सूचना अधिकृत बरालका अनुसारका डेङ्गी परीक्षण किटको अभाव भएको छ । ‘प्रदेशमा पनि किट अभाव भएकाले जिल्लामा पाउन सकेका छैनौ । हाल किट अभाव भएर उपचार नै नपाएको अवस्था भने छैन ।’बरालले भन्नुभयो । जिल्ला अस्पतालमा आउने बिरामीलाई ‘बेड’ अभाव हुँदा भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो महिनायता अस्पतालमा डेङ्गु, ज्वरो र स्क्रवटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले धान्नै नसक्ने गरी बिरामी भर्ना भएपछि भुईँमै राखेर उपचार गरिएको इमरजेन्सी इन्चार्ज टीका लुईँटेलले बताउनु भयो । ‘डेङगु,स्क्रवटाइफस र भाइरल ज्वरोका बिरामी दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा आउन थालेपछि उपचारमा धेरै समस्या भयो ।’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय बेडले धान्नसम्म धान्दैछ तर, चाप उत्तिकै छ ।’ अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भएपनि उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ । इलाम अस्पतालका डाक्टर प्रभु शाहका अनुसार, ज्वरो आउने,मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरिरमा रातो विमिरा आउनु,वान्ता हुनु,वाकवाकी लाग्नु नै संकमणका प्रमुख लक्षण भएकाले लामखुट्टेको टोकाईबाट बच्नसके डेङ्गीबाट जोगिन सकिन्छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा २ सय ४८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध भएका ३ सय ९० ओटा किटमध्ये ३ सय ४० ओटा किट जिल्ला अस्पताललाई उपलब्ध गराएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ दाहालले बताउनु भयो । उहाँले हाल स्वास्थ्य कार्यालयसँग ५० ओटा मात्र किट रहेकाले किट अभाव हुन सक्ने बताउनु भयो । प्रदेश स्वास्थ्य निर्देशनालयसँग २ सय थान किट माग गरिएको भएपनि किट प्राप्त नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी दाहालको भनाइ छ । जिल्ला अस्पतालका सूचना अधिकारी महेन्द्रकुमारी खड्काले डेङ्गीको उपचारपछि केहीलाई घर पठाएको र ज्वरोलगायतले समस्या हुनेहरुलाई अस्पतालमा भर्ना गरी उपचार गर्दै आएको बताउनु भयो ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा ०८० असोज मसान्तसम्म ३२ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक शिव कुमार यादवका अनुसार असोज १ गतेसम्म ३२ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य निरिक्षक यादवका अनुसार ०८० असार पहिलो साता मोलुङ गाउँपालिकाकी एक बालिकामा सबै भन्दा पहिले संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको यादवले बताउनु भयो । जिल्ला अस्पताल रुम्जाटार र ओखलढुङ्गा सामुदायिक अस्पतालमा डेंगी परिक्षण गरिन्छ । जिल्लामा डेङ्गी बिरामीहरूका लागि प्रयोग गरिने टेष्ट किट अभाव नरहेको यादवले बताउनुभयो । जिल्लाका केहि स्थानीय तहसँग समन्वय गरेर लामखुट्टे ‘खोज र नष्ट गर’ भन्ने अभियान चलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगी विशेष प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भएकाले सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा ०८० असोज समान्तसम्म १ हजार ४ सय २९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्लामा डेङ्गी परीक्षण गर्ने किट १ सय ४० ओटा मात्र भएको बताउनुभयो । विरामीको चाप अनुसार किट अभाव हुने अवस्था आएको उहाँको भनाइ छ । प्रदेश र केन्द्रमा समेत परीक्षण गर्ने किट माग गरेको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । जिल्ला अस्पताल संखुवासभामा दैनिक रुपमा डेङ्गी सङ्क्रमितका विरामी बढ्दै गएका कारण बेड समेत अभाव हुन थालेको हो । पछिल्लो समय जिल्लामा तीव्र रुपमा डेङ्गी सङ्क्रमित बढेका छन् । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ । डेङ्गी रोकथाम र सचेतना अभियान लार्भा खोज, नष्ट तीन महिने अभियान नेपाल रेडक्रस सोसाइटीले गरिरहेको छ । डेङ्गी सङ्क्रमणका बिरामीको संख्या बढेपछि उपचार गर्ने बेड अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नु पर्ने बाध्यता भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा किट अभाव हुने देखिपछि कोशी प्रदेश कार्यालयमा माग गरिसकेको छ । ५० बेड क्षमताको संखुवासभा अस्पताल समयमा भवन निर्माण सम्पन्न नहुदाँ २०३३ सालमा स्थापना भएको ३७ बेड क्षमताको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १० स्थानीय तहमध्ये चिचिला र भोटखोला गाउँपालिकामा डेङ्गी सङ्क्रमण देखिएको छैन ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा ०८० असोज मसान्तसम्ममा ६ सय २ जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । अघिल्लो बर्षको तुलनामा यो बर्ष डेंगीको संक्रमण फैलने दर निक्कै उच्च रहेको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. अमिताभ ठाकुरले बताउनु भयो । थकित हुने, जिउ दुख्ने, कमजोर महसुस हुने, अत्याधिक टाउको, आखा दुख्ने, बाक्वाकी लाग्ने तथा १०० डिग्रि भन्दा बढी ज्वरो आउनु डेंगीको लक्षण हो। यी लक्षण देखिएमा पारासिटामोला जस्ता सामान्य औसधि घरमै प्रयोग गर्न सकिने र सामान्य औसधि प्रयोग गर्दा निको नभएमा नजिकको अस्पताल जानुपर्ने डा. ठाकुरको भनाइ छ । यो एडिज जातको लाम्खुट्टेको टोकाइबाट मात्र सर्ने संक्रमण हो । डेंगु भएको बिरामीलाइ टोकेर अर्को ब्यक्तिलाइ टोकेमा यो सर्ने गर्दछ। लामखुट्टेले टोकेको ४ देखि १४ दिनमा यसको लक्षण देखिन्छ। पहिलो चरणमा संक्रमितले राम्रो उपचार नपाएमा गम्भीर समस्या आउने र बिरामीको मृत्यु पनि हुने डा. ठाकुर बताउनु हुन्छ । जिल्ला अस्पतालमा डेंगी टेष्टकिटको अभाव भएको छ । अस्पतालमा टेष्टकिट अभाव भएर मगाएको ३ दिनसम्ममा पनि किट नआएको धनकुटा अस्पतालले जनाएको छ । टेष्टकिट उपलब्ध गराउने जिम्मा स्वास्थ्य कार्यालयको भएपनि उपलब्ध नगराएपछि अब अस्पतालले नै खरिद गर्ने तयारीमा रहेको डा. ठाकुरले बताउनु भयो । यता स्वास्थ्य कार्यालय धनकुटाका निमित्त प्रमुख गोकुल भण्डारीले टेष्टकिटको व्यवस्थापन भइरहेको र अभाव नभएको बताउनु भयो । टेष्टकिट खरिदका लागि बजेट अभावका कारण समस्या भएपनि त्यसको व्यवस्थापन भइरहेको र स्थानीय तहसँग अनुरोध गरिएको भण्डारीले बताउनु भयो । यता धनकुटा नगरपालिकाका उपप्रमुख भीमा खनालले डेंगी नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको र त्यसका लागि आवश्यक योजना तयार गरिएको खनालको भनाइ छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा २० हजार जनामा डेङ्गी पुष्टि भएको छ । ०८० असोज समान्तसम्म १३ जनाको डेङ्गीका कारण मृत्यु भएको छ । डेङ्गी सङ्क्रणको जोखिम उच्च भएपछि रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाका सम्बन्धित १२ ओटै स्थानीय तह र सरकारी निकायले अपनाएको सावधानी, खोज र लार्भा नष्ट गर अभियान प्रभावकारी भएकाले कात्तिक १ गतेदेखि संक्रमण दर शूण्यमा झरेकोे स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । साउन र भदौंमा डेङ्गीको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरी र स्थानीय तहरुले ‘खोज र नष्ट गर’ अभियान चलाएको थियो । चिकित्सकका अनुसार डेङ्गीको ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेङ्गीका प्रमुख लक्षण हुन् । चिकित्सक श्रेया पंगेनीका अनुसार डेङ्गी सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । अहिले गर्मी कम भएकाले नयाँ डेङ्गी सङ्क्रमणका विरामी एक हप्तायता जिल्ला अस्पतालमा नआएको अस्पातलका प्रमुख पंगेनीले बताउनु भयो ।