INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्वोच्च अदालतद्वारा हत्या अभियोगमा जन्मकैद सुनाइएका ढकाललाई आममाफी दिनुको कारणबारे सरकारसँग जबाफ माग

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय सुनाइएका नेपालगञ्जका योगराज ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जबाफ माग गरेको छ ।

मानन्धरकी पत्नी भारती शेर्पाले ०८० असोज १४ गते दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको असोज १८ गतेको इजलासले सुनुवाई गर्दै असोज २४ गते साँझ ५ बजेभित्र लिखित जबाफ बुझाउन सबै विपक्षीलाई आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिट निवेदनलाई अग्राधिकार दिएर विपक्षीबाट लिखित जबाफ आएपछि पूर्ण इजलासमा सुनुवाइ हुने गरी असोज २५ गते पेसी तोक्न समेत आदेश दिएको छ । त्यस्तै अदालतले रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदक तथा निजका परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा प्रदान गर्न र गराउन गृह मन्त्रालयलाई लेखि पठाउन समेत गृह मन्त्रालयले आदेश दिएको छ ।

न्यायाधीश शर्माको इजलासले योगराज ढकाल (रिगल) सँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरू समेत मगाउँदै पीडितले दायर गरेको रिट निवेदनलाई गम्भीर रूपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुन समेत आदेश दिएको छ ।

नेपालगञ्जमा ०७२ असार २८ गते हत्या गरिएका चेतन मानन्धरको हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका योगराज ढकाल (रिगल) लाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज ३ गते संविधान दिवसका अवसरमा आममाफी दिनुभएको थियो । ढकाललाई उन्मुक्ति दिन कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र कैद मिनाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको आदेशलाई उल्ट्याइ पाउँ भन्दै भारतीले असोज १४ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

अन्य

भिडियो