जुम्लामा मानसिक समस्या भएका बिरामी बढ्दै गएका छन् । मानिस सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो ।
कनकासुन्दरी गाउँपालिका – ५ लुड्की गाउँकी ४२ वर्षीया निरासा घर्तीले भन्नुभयो ‘पति पाँच वर्षअघि भेडाबाख्रा खरिद गर्ने र सदरमुकाम खलंगामा बिक्री गर्ने गर्दै आउनु भएको थियो । त्यो व्यवसायी धरासयी भएपछि पतिले आत्महत्या गर्नु भयो । त्यो व्यवसाय गर्दा धेरै ऋणजोखो लगाउनु भएको रहेछ । हामीलाई भन्नु भएन । पतिको मृत्युपछि धेरै व्यक्तिहरु घरमा पैसा माग्न आउन थाले । ’
आफुलाई केही थाहाँ छैन कसरी ऋणजोखो तिर्नु उहाँले भन्नुभयो । त्यो समस्याले गर्दा गाउँमा बस्न नसकेर जुम्लाको सदरमुकाम खलंगा आएर बसे । बालबच्चालाई कसरी पालनपोषण, शिक्षा स्वास्थ्य गर्नु धेरै समस्या भयो । ति समस्याले गर्दा अहिले मनोरोगी भएको उहाँले बताउनु भयो । मनोरोगको उपचार खोज्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला गए । त्यहाँ चिकित्सक नभएर मनोविमर्शकता कर्ता मात्रै रहेछन् । उहाँले केही कुरा सल्लाहसुझाव दिनुभयो । अस्पतालमा औषधि र चिकित्सकको उपचार नपाएको उहाँको गुनासो छ ।
वार्षिक दुई हजार बढी बिरामी मानसिक समस्याको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आउने गरेको तथ्याङ्क छ । कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नका लागि नेपाल सरकारकै लगानीमा २०६८ सालदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सञ्चालनमा आएको हो । अहिले पनि नेपाल सरकारकै अनुदानमा सञ्चालनमा रहेको छ ।
आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार ७६ जना उपचारका लागि पुगेका थिए । जसमा महिला एक हजार २ सय २० र पुरुष ८ सय ५६ थिए । आर्थिक वर्ष २०७९/८० मा बढेर २ हजार १ सय ८९ जना अस्पतालमा उपचार गर्न आउने पुगेका छन् । जसमा महिला ८ सय ७१ र पुरुष ज्१ हजार ३ सय १८ रहेका छन् ।
जुम्लामा मनोचिकित्सक नहुँदा कतिपय बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको प्रतिष्ठानका परामर्शदाता नन्दराज आचार्यले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानमा ८/९ महिनादेखि दरखास्त आह्वान गरे पनि चिकित्सक आएका छैनन् । प्रतिष्ठानका रजिष्टार निर्पेन्द्र महतका अनुसार मनोचिकित्सक अस्पतालमा ल्याउनका लागि पटक पटक विज्ञापन गरेका छौँ । पाएका छैनौ । चिकित्सक ल्याउने पहल भइरहेको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउनु भयो । विगतको तुलनामा अहिले मानसिक समस्याको शङ्का लाग्नासाथ बिरामी औषधि उपचारका लागि अस्पताल आउने क्रम बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू प्राथमिकता दिने मानसिक स्वास्थ्यका १२ किसिमका औषधि आपूर्ति गरी निशुल्क वितरण गर्ने गरेको छ । ’