वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट भागेका दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते भागेका दुई जना बालक फरकफरक ठाउँबाट पुनः गिरफ्तार भएका हुन् । एक जना ०८० असोज १३ गते राति सर्लाहीको नेपाल भारत सिमाबाट र अर्का एक जना असोज १४ गते सिराहाको नेपाल भारत सिमाबाट बिहान पुनः गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो । साथै दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने कार्य भइरहेको उहाँले बताउनु भयो ।
बालकहरू असोज १२ गते बिहान दुई बजेको समयमा बालसुधार गृहको छतमाथिको काँडेतार काटेर भागेका थिए । भागेका बालकमध्ये एक जना कर्तव्य ज्यान मुद्दा र एक जना जबरजस्ती करणी मुद्दामा बाल सुधार गृह वीरगंजमा राखिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुधार गृहबाट फरार भएका दुई जना बालकहरू वीरगंजको रेल्वे रोड हुँदै शंकराचार्य गेट तर्फ गएको र त्यस पछि एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर वीरगंज भन्सार तर्फ गएको प्रहरीको सिसिटिभी क्यामेरामा देखिएको थियो ।