INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग

वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् ।

स्कुलको घण्टाघर नजिककै रहेको होस्टेलमा असोज १२ गते राति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका ८ वर्षीय सलाम पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । मृतक बालक कक्षा २ मा पढ्थे । मृत्यु शंकास्पद रहेको भन्दै आफन्तहरु आन्दोलन गदै सडककमा उत्रिएका हुन् ।

बालकको शव बुझ्न नमानेका आफन्तले असोज १३ गते दिउँसो विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्थिति नियन्त्रणमा लिने प्रयास प्रहरी प्रशासनले गरेपनि आन्दोलन उग्र बन्दै गएको थियो । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन मानेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले मृतक पक्षसँग छलफल भइरहेको बताउनुभयो । ‘मृतकका आफन्तहरुसँग छलफल भइहरेको छ । उहाँहरु सहमतिमा पनि आइसक्नुभएको छ । तर केही बाहिरका व्यक्तिहरु आन्दोलनमा घुसेर उग्र बनाउने काम भइरहेको छ’ प्रजिअ सापकोटाले भन्नुभयोे, ‘हामीले आवश्यक प्रहरी फोर्स परिचालन गरेका छौं । आन्दोलनलाई शान्त पार्ने काम भइरहेका छन् ।’ घटनास्थलको मुचुल्का गरेर शव उठाउने तयारी गरिएकोे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रसिंह थापाले बताउनुभयो ।

‘बालकको मृत्युको विषयमा विस्तृत अनुसन्धान गर्दैछौं,’ एसपी थापाले भन्नुभयो, ‘विद्यालयका केही व्यक्तिविरुद्ध जाहेरी आइसकेको छ । सञ्चालक समितिका तीन जना व्यक्तिलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेका छौं ।’

घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबिच झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको थियो ।

Photo20231001Surkhet

अन्य

भिडियो