सुनसरीको धरानबाट सुरू भएको डेङ्गीको सङ्क्रमण कोशी प्रदेशका १४ ओटै जिल्लामा फैलिएको छ ।
डेङ्गी सङ्क्रमणका कारण ०८० असोजको दोस्रो सातासम्म कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेशको धरानमा ०८० साउनदेखि फैलिएको डेङ्गी सङ्क्रमणका कारण असोज ११ गतेसम्म १७ जनाको मृत्यु भएको छ छ । प्रदेश भरीमा ३० हजार ३ सय ३० जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ ।
कोशीका १४ ओटा जिल्लामध्ये डेङ्गीको सबैभन्दा बढी प्रभाव सुनसरीमा देखिएको छ । सुनसरीमा ०८० साउनदेखि असोजको ११ गतेसम्मको अवधिमा १३ जनाको मृत्यु भएको छ । १९ हजार ४ सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले बताउनु भयो ।
स्वास्थ्य निर्देशनालयका अनुसार मोरङमा गएको साउनदेखि असोजको दोस्रो सातासम्मको अवधिमा ४ हजार २ सय ४२ जना सङ्क्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ । झापामा २ हजार ९ सय ६४ जना सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको छ । डेङ्गी सङ्क्रमणका कारण उदयपुर एक जनाको मृत्यु भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ ।
०८० साउनदेखि असोज ११ गतेसम्मको अवधिमा तेहृथुममा २ सय ११ जना, पाँचथरमा ३ सय ३८ जना, इलाम ५ सय ३५ जना, उदयपुर ८ सय १६ जना, धनकुटामा ४ सय ३२ जना, भोजपुरमा ३ सय ३१ जना, सङ्खुवासभामा ८ सय ६७ जना, ओखलढुङ्गामा ४० जना, ताप्लेजुङमा ३३ जना, खोटाङमा ४५ जना र सोलुखम्बुमा २० जना डेङ्गीका बिरामी फेला परेका छन् ।
सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपागायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेङ्गी सङ्क्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्यकर्मीले तीव्र ज्वरो आउनुलाई डेङ्गीको मुख्य लक्षण भनेका छन् । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण बिरामीमा देखिने चिकित्सकको भनाइ छ ।