सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालयले बालबालिकाले पाउने दिवाखाजा लागि आउने बजेट शिक्षकलाई तलब दिएको छ । विद्यालयमा दैनिक २० रुपियाँका दरले १ सय ५० जना विद्यार्थीले पाउने खाजा रकम शिक्षकको तलबमा खर्च गर्न थालेपछि बालबालिकाहरु दिवाखाजाबाट वञ्चित हुनुपरेको छ ।
विद्यार्थीको दिवाखाजाको ५ लाख ५० हजार रुपियाँबाट तीन शिक्षक राखेपछि विद्यार्थीले दिवाखाजा नपाएको कक्षा ६ मा अध्ययनरत छात्र यामराज जैसीले गुनासो गर्नुभयो । गत दुई वर्षदेखि विद्यालयबाट उपलव्ध हुने दैनिक खाजा आफूहरुलाई नदिएर शिक्षकहरूलाई तलब खुवाउने गरेपछि सो विद्यलायका १ सय ५० जना बालबालिका उक्त दिवा खाजाबाट वञ्चित भइरहेको छात्र जैसीको भनाइ छ ।
विद्यालयमा १ देखि ६ कक्षासम्म १ सय १९ र बालविकास केन्द्रमा ३४ जना बालबालिका अध्ययनरत छन् । विद्यालयले दिवाखाजा कटाएर निजी स्रोतका शिक्षक चक्र मल्ल, रूपबहादुर शाही, दीपेन्द्र बमलाई राखेको छ । सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि हुम्ला सहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपियाँ खाजाबापत रकम दिन्छ ।
तर, प्रधानाध्यापक कालिबहादुर रावतले कक्षा ८ सम्म सञ्चालन गर्न शिक्षक अभाव भएपछि निजी स्रोतमा शिक्षक राखेर चलाउन दिवाखाजाको पैसा प्रयोग गरिएको बताउनुभयो । अभिभावकले कक्षा ८ सम्म पढाइदिन भन्नुभयो । तर शिक्षक दरबन्दी ३ जना मात्र छ । निजीमा शिक्षक राख्न अन्य स्रोत नभएकाले खाजाको रकम प्रयोग गरिएको प्रधानाध्यापक रावतको भनाइ छ ।
सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख वीरजंग शाहीले बालबालिकाका लागि छुट्याइएको दिवाखाजा कटाएर शिक्षक पाल्न नपाउने बताउनुभयो । कक्षा ६ सम्मका एक सय ५० बालबालिकाको दिवाखाजाका लागि दैनिक २० रुपियाँका दरले वार्षिक ५ लाख ५० हजार ८ सय रुपियाँ बजेट जान्छ । दिवाखाजाको बजेट वार्षिक १ सय ८० दिन मानेर निकासा हुने गरेको बताउनुभयो ।