बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ ।
विराटनगर महानगरपालिका-१९ मा ३३ जना बालबालिकामा कुपोषण भएको स्वास्थ्य जाँचका क्रममा पाइएको छ ।
विराटनगर महानगरपालिका-१९ मा असोज ५ गते सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३३ जना बालबालिकामा कुपोषण भएको पाइएको वैजनाथुर अस्पतालका सिनियर अहेव भोला तिम्सिनाले बताउनु भयो ।
प्रदेश राजधानी भएको स्थानीय तहभित्र समेत अप्रत्याशित रुपमा बालबालिकामा कुपोषणको समस्या पाइएपछि स्वास्थ्य सम्वेदनशीलता बढेको अहेव तिम्सिनाले बताउनु भयो ।
बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको छ ।
शिविर कार्यक्रममा पाँच वर्षमुनिका ४ सय ४८ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ३३ जनामा कुपोषण देखिएको वैजनाथपुर अस्पतालले जनाएको छ ।
परीक्षणमा आएकामध्ये दुई जना बालबालिका अन्य समस्या भएको पाइएपछि उपचारका लागि मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको छ ।
विराटनगर महानगरपालिकाको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पाँचवर्षमुनिका बालबालिकाको स्वास्थ्य परीक्षण तथा पोषण लेखाजोखा शिविर ०८० असोज ५ गतेदेखि सुरु गरिएको छ ।
वैजनाथपुर अस्पतालका सिनियर अहेव भोला तिम्सिनाले असोज ७ गते स्वास्थ्य जाँच गरिएका २२ जना बालबालिकामध्ये चार जनामा मध्यम कुपोषण पाइएको बताउनु भयो ।
शिविरमा सहभागी गराइएका बालबालिकाको कुनैपनि स्वास्थ्य समस्या देखिएमा विराटनगर महानगरपालिकाले निःशुल्क उपचार गर्ने भएको छ ।
शिविरमा कडा र मध्यम कुपोषण देखिएकाहरुलाई निरन्तर रुपमा घरमै पुगेर थप परीक्षण गर्ने कार्यक्रम रहेको विराटनगर महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई परामर्श दिइनेदेखि बच्चाका लागि पोषण प्याकेज समेत उपलब्ध गराइएको स्वास्थ्य शाखाले जनाएको छ ।
कडा किसिमको र मध्यम किसिमको कुपोषण देखिएका बालबालिकाको लागि घरमै दूध तथा अण्डाको प्रवन्ध मिलाएर दैनिक थप आहारको व्यवस्था गर्ने कार्यक्रम तय गरिएको छ ।
अति विपन्न परिवारमा जन्मिएका बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।
बालबालिकाको उमेर अनुसारको उचाई र तौल नभएको अवस्थामा उनीहरुमा कुपोषण रहेको मानिन्छ ।