स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेसका युवा नेता ३८ वर्षीय युवराज पौडेललाई काङ्ग्रेसका कार्यकर्ताले अमानवीय व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
काङ्ग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा चार जनाको सङ्ख्यामा आएका व्यक्तिले असार २१ गते पीडितलाई मोसो दलेर अमानवीय व्यवहार गरेको पीडितले आरोप लगाएका हुन् ।
कोहलपुर नगरपालिकाको मतगणना असार २१ गते दिउँसो मात्र सकिएको थियो । नेपाली काङ्ग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएपछि युवराजले असहयोग गरेको भन्दै पुडासैनीको समूहले घरमा बसेको अवस्थामा पौडेललाई अमानवीय व्यवहार गरेका थिए । उक्त नगरपालिकामा एमालेका लुटबहादुर रावत विजय भएका थिए ।
पीडितले घटनामा संलग्न व्यक्तिलाई कारबाहीको मागगर्दै असार २२ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको सई सुरेन्द्र पन्तले बताए ।