INSEC Online

📅 २०८३ जेष्ठ २१

हिरासतमा बलात्कार घटनाको उजुरी

३५ वर्षीया महिलामाथि इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा कार्यालय प्रमुख डिएसपी दिपक कुमार रायले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ ६ गते उजुरी दिनुभएको छ ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला आरोपितबाट चैत ६ गते बलात्कार भएको भनी ती महिलाले उजुरी दिनुभएको हो । पेट दुखेपछि उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकोले कसैलाई भन्न नसकेको महिलाले लेखाउनु भएको छ ।

महिलाले अस्पतालमा दिएको बयानलाई गोप्य राखी मुद्दा अगाडि नबढे पछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएको बताउनु भयो । उजुरीमा महिलाले नाम थाहा नभएको असईले सोधपुछ गर्न हाकिमले बोलाएको भन्दै कार्यालय प्रमुख कहाँ लगेको र मादक पदार्थ सेवन गरेर बसेका प्रमुखले कुटपीट गरी मुख थुनी बोल्न कराउन नदिई बलात्कार गरेको उल्लेख गर्नुभएको छ । ‘सोही राती पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर बलात्कार गरे पश्चात यो कुरो कसैलाई कतै भनेमा २० वर्षसम्म जेलमा सडाई दिने’ भनेर डर, धाक, धम्की दिएको उजुरीमा लेखिएको छ ।

बलात्कारको घटना कसैलाई नभने अभियोगबाट छुटाइ दिने र नोकरी समेत लगाई दिने आश्वासन दिई अनुचित प्रभावमा पारेको पीडितले बताउनु भयो । प्रलोभन, धम्की र हिरासतमा रहेका कारण बाहिर आउन नसकेको यो घटना निकै दिनपछि थाहा पाएको पीडितकी आमाले बताउनु भएको छ । घटना अनुसार चैत ४ गते ती महिला गिरफ्तार हुनु भएको हो । उहाँको पोलिग्राफ परीक्षण चैत ८ गते भएको थियो । उहाँसँगै गिरफ्तार हुनुभएका अन्य आरोपित महिलाहरूको चैत ९ र १२ गते पोलिग्राफ परीक्षण भएको अदालतमा पेश गरेको प्रमाणबाट देखिन्छ ।

गैरकानुनी रूपमा प्रहरी हिरासतमा राखिएकी महिलाविरुद्ध चैत १४ गते मात्र प्रहरी प्रतिवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र चैत २० गते महिलाका जेठाजुको जाहेरीसमेतको आधारमा ज्यान सम्बन्धी कसुरको अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँका कानुन व्यवसायी दुर्गानन्द चौधरी बताउनु हुन्छ । अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिदा आरोपित अन्य दुई महिलाले स्वास्थ्य परीक्षण गराए पनि पीडित महिलाले प्रहरीको धम्कीकै कारण परीक्षण गर्न नमानेको कुरा महिलाले पछि मात्र बताएको कानुन व्यवसायीले बताउनु भयो ।

एसपी नरेन्द्रकुमार कार्कीसँग यस अघि यस बारेमा कुरा राख्दा उहाँले महिलाबाट आरोप आए पनि आन्तरिक अनुसन्धान गर्दा त्यस्तो नदेखिएकोले मुद्दा नचलाइएको बताउनु भएको थियो । अहिले लिखित उजुरी नै लिएर गएका पीडितका कानुन व्यवसायीले दर्ता गरी अनुसन्धान गर्न आग्रह गर्दा एसपी कार्कीले प्रहरी अधिकृतकै विरुद्धको मुद्दा सहजै दर्ता गर्न नसकिने उत्तर दिएको बताउनु भएको छ ।

अन्य

भिडियो