जिल्लाका केही गाउँहरुमा राम्रो स्वास्थ्य संस्था र मोटरबाटो नहुँदा उपचारका लागि बिरामीहरुलाई अस्पताल पुर्याउन नै स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
शिवनाथ गाउँपालिकामा राम्रो स्वास्थ्य संस्था नहुँदा शिवनाथ गाउँपालिका–१ बोड्ब्याकी ४५ वर्षीया करडी साउद सिकिस्त बिरामी हुँदा उहाँको उपचार गर्न जिल्ला अस्पताल, डडेल्धुरा लैजान नै गाउँलेहरुले सास्ती खेप्नु पर्यो ।
अस्पताल र मोटरबाटो नहुँदा गाउँलेहरुले सिकिस्त बिरामी हुनुभएकी करडीलाई स्टेचरमा बोकेर दुई घण्टाको पैदल यात्रा गरी मोटरबाटो भएको ठाउँ शर्मालीसम्म पुगाउन नै निकै सास्ती खेप्नु परेको स्थानीय विनय साउदले गुनासो गर्नु भयो । रोजगारीका लागि गाउँका अधिकांश युवाहरु भारत जाने भएकाले कहिलेकाही त बिरामीलाई स्टेचरमा बोकेर अस्पतालसम्म पुर्याउने मान्छे नै नभेटिने गरेको उहाँले बताउनु भयो ।

यो एक प्रतिनिधिमुल घटना मात्रै हो । सडक सञ्जालबाट टाँढा रहेको बोड्ब्या गाउँमा बेलाबखत बिरामी तथा असक्तहरुलाई स्वास्थ्य संस्था पुर्याउन नै मुस्कील हुनेगरेको छ । बोड्ब्या गाउँ जोडनका लागि निर्माण भइरहेको सडक जंगल क्षेत्रमा रोकिएपछि मोटरबाटोमा पुग्न स्थानीयहरु दुई घण्टा बढी पैदल यात्रा गर्न बाध्य भएका छन् ।
‘गाउँमा मोटरबाटो नहुँदा दाहसस्कार गर्न र बिरामी हुँदा अस्पताल लग्न समेत समस्या हुनेगरको छ । उत्पादन गरेको तरकारी र कृषिजन्यवस्तु बजारसम्म पुगाउन सकिएको छैन् । बोड्व्या गाउँ सडक सञ्जालसँग नजोडिदा गाउँलेहरुले सास्ती खेप्नुपरेको छ ।’ स्थानीय पदम जोशीले भन्नु भयो । सडक निर्माण कार्य अधुरो भएकोले गाउँपालिकाले पहल गर्नु आवश्यक छ ।
माहाकाली करिडोर पनि त्यही ठाउँ भएर खनिने भएकाले गाउँपालिकाले खन्न लागेको सडक हाललाई स्थगित गरिएको भए पनि बोड्व्या गाउँमा सडक पुगाउनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनु भयो ।
जिल्लाका अधिकांश ठाउँहरु सडक सञ्जालले जोडिएका भए पनि हिउदमा मात्रै यातायातका साधानहरु सञ्चालन हुने र वर्षायाममा यातायातका साधन सञ्चानल नहुँने भएकोले स्थानीयले वर्षेनी सास्ती खेप्दै आएका छन् ।
