INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पपीडितको घर निर्माणमा लागि पर्ने गाउँपालिका अध्यक्षको प्रतिबद्धता

सिद्धलेक गाउँपालिकाका भूकम्पपीडितको लागि छिटो घर निर्माण गर्न लागि पर्ने प्रतिबद्धता सो गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले व्यक्त गरेका छन् ।

Photo20170701Dhading

जिल्ला समन्वय समिति धादिङ, सिद्धलेक गाउँपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सिद्धलेक गाउँपालिका-४ बुङचुङमा असार १६ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भूकम्पप्रभावितको घर निर्माण, गाउँपालिका भित्रका योजना र यसको अन्तिम भुक्तानी तथा महिला बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको लागि गाउँपालिकाले गर्ने र गरेका कामको बारेमा कार्यक्रमका सहभागीहरूले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सिलवालले भूकम्पपीडतको घर निर्माण गर्दा प्रविधिकहरूले १ इञ्च फरक परेमा काम रोक्न लगाएकोले जनताको घर भूकम्पप्रतिरोधी भए सिफारिस गरेर दोश्रो, तेश्रो किस्ता दिन प्रविधिकहरू लचिलो हुनु पर्ने बताए । गैससहरूले गाउँपालिकाको प्राथमिकता अनुसार गाउँपालिकासँगको सहकार्यमा काम गर्नुपर्ने सिलवालले बताए ।

सोही गाउँपालिकाकी उपाध्यक्ष कमला शर्माले गाउँपालिकाले नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्ने र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

गाउँपालिका कार्यकारी अधिकृत लक्ष्मण भट्टराईले ४ हजार ८ सय ३९ जनाले पहिलो किस्ता रकम लगेको र ३ सय ६२ को गुनासो सुनुवाइ भएको बताए । १ सय ३९ जनाले मात्र दोश्रो किस्ताको रकम लगेकोले भूकम्पीडितहरूलाई छिटो घर निर्माण गरी अन्तिम किस्ताको रकम लान उनले आग्रह गरे ।

साविकको कुम्पुर गाविसमा रहेका इञ्जिनियर चन्दन सहनीले दोश्रो किस्ताको लागि सुरूमा सिफरिस गरिएका घरहरूको दोश्रो किस्ताको रकम नआएको तर हालसालै सिफारिस भएकाहरूको आएको र आफूहरूलाई पुनर्निर्माण प्राधिकरणले सूचना नदिएर अलमलमा परेको गुनासो गरे ।

अन्य

भिडियो