उच्च अदालत,सुर्खेतले वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका चौकुने गाउँपालिका—५ रेक्चाबासीलाई खानेपानीको समस्या समाधान गर्न विपक्षीका नाममा परमादेश जारी गरेको छ ।
उच्च अदालत,सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनम सिह चन्दको संयुक्त इजलासले साउन ३२ गते परमादेश जारी गरेको उच्च अदालत, सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
‘अदालतले चौकुने गाउँपालिकालाई कर्तव्य निर्वहन गर्न दत्तचित्त भएर लाग्न र अन्य विपक्षी कार्यालयलाई कर्तव्य निर्भाह गर्न परमादेश जारी गरेको छ,’रजिष्ट्रार कोइरालाले भन्नुभयो, ‘परमादेशको पुर्णपाठ केही दिनमा आउनेछ ।’
उहाँका अनुसार उल्लेखित विषयको बहसमा समस्या रहेको र सम्बन्धित निकाय पनि प्रयासरत भएको भन्ने कुरामा सहमत भएको हुँदा त्यसको दिर्घकालीन रुपमा समाधान गर्न विपक्षीलाई आदेश गरिएको छ ।
वैशाख २७ गते वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका रेक्चाका नागरिकहरुलाई दैनिक पानी पु¥याउने बन्दोबस्तको लागि अन्तरिम आदेश मागगर्दै अधिवक्ता प्रकाशबाबु ऐडी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),सुर्खेतका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र चौकुने गाउँपालिका विरुद्ध उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
निवेदकद्वयले रेक्चाका नागरिकहरु न्यूनतम मानवीय आवश्यकता भित्रपर्ने स्वच्छ खानेपानीका लागि प्रताडित भइरहेको बताउँदै रेक्चाका ९० घरधूरीलाई तत्कालीन खानेपानी उपलब्ध गराउन अन्तरिम आदेश माग गर्दै रिट निवेदन दिनुभएको थियो ।
वैशाख २८ गते अदालतले रेक्चाबासीका लागि दैनिक न्यूनगत खानेपानी आपूर्ति गर्न के कस्तो प्रबन्ध गर्न सकिन्छ ? सो को विवरण प्राविधिक समेतको सहयोगमा तयार गरी लिखित जवाफ साथ प्रतिवेदन पठाउन चौकुने गाउँपालिकालाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
खडेरी लागेसँगै रेक्चाका स्थानीयलाई पानीको समस्या पर्ने गरेको थियो । १२ महिना मध्ये असार, साउन र भदौ गरी यी तीन महिनामा मात्र त्यहाँका नागरिकहरुले पर्याप्त पानी पिउन पाउने गरेका थिए ।
खडेरीमा त गाउँलेहरुले कुवामा चौकीदार राखेरै प्रतिघर दुई गाग्रीका दरले पानी वितरण गर्ने गरेका छन् ।त्यहाँ मात्रै होइन्, चौकुनेका रेक्चा, पुच्मा, नाउली रधनरास लगायतका पहाडी ठाउँहरूका स्थानीयहरु पनि पानीको अभावमा जिविका चलाइरहेका छन् ।
