धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा साउन २५ गते गर्भपतन गराउन जानु भएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडा बिगाउँकी ३५ वर्षीया प्रिती विष्टथापालाई स्वास्थ्यकर्मीले जथाभाबी औषधी खुवाएका कारण मृत्यु भएको पीडित पक्षको आरोप छ ।
मेरी स्टोप सामुदायिक क्लिनिकका स्वास्थ्यकर्मीले गर्भपतन गराउनका लागि प्रतिलाई जथाभावी औषधि खुवाउँदा साउन २५ गते मृत्यु भएको भन्दै पीडित पक्षले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
धनगढी उपमहानगरपालिका—१ स्थित मेरी स्टोप्स सामुदायिक क्लिनिकमा साउन २४ गते गर्भपतनका लागि जानु भएकी विष्टथापालाई स्वास्थ्यकर्मीहरुले गर्भपतन हुने औषधि खान दिनु भएको र औषधि आएपछि अत्याधिक रक्तश्राप भएको पीडितकी सानीआमा इन्द्रा विष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘ चार ओटा टेब्लेटसंगै खान दिइयो । अत्याधिक रक्तश्राप भएपछि बोहोस भइन् । स्वासप्रस्वासमा समस्या आयो । अवस्था जटिल भएपछि मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालक विनोद जोशीले नै साउन २५ गते सेती प्रादेशिक अस्पताल पुर्याउनु भएको भए पनि सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।’
पीडितका दुई छोरा र दुई छोरी रहेकाले पाँचौँ बच्चा नजन्माउने पक्षमा रहेकी विष्टथापालाई आवश्यकता भन्दा बढी औषधि सेवन गर्न दिइएकै कारण पाठेघर फुटेर अत्याधिक रक्तश्राप भई मृत्यु भएको पीडित पक्षको आरोप छ ।
मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, अगाडी आन्दोलन गरिरहेका स्थानीयमाथि प्रहरीले साउन २६ गते लाठ्ठी प्रहार गर्दा २७ वर्षीया निर्मला विक, २४ वर्षीया रेखा विष्ट, ३५ वषीया कलावती विष्ट, ३० वर्षीया चम्फा विष्ट र २९ वर्षीया माया खड्का सामान्य घाइते भएका छन् ।
गर्भपतनका क्रममा महिलाको मृत्यु भएको भन्ने मौखिक जानकरी प्राप्त भएपछि क्लिनिकका सञ्चालक विनोद जोशीलाई साउन २५ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
पीडित पक्षले साउन २६ गते उजुरी दर्ता गर्नु भएको र घटनाको विस्तृत अध्ययनपश्चात मात्रै मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालक जोशी गर्भपतनका विषेशज्ञ हुन हैनन वा क्लिनिक वैद्य हो वा हैन भनेर भन्न सकिने उहाँले बताउनु भयो ।
शवको पोष्टमार्टम साउन २६ गते सेती प्रादेशिक अस्पतालमा गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्दले बताउनु भयो ।