१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४० वर्षीय शिवशंकर मण्डललाई साउन २२ गते तीन वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आरोपितलाई बलात्कार गरेको कसुर ठहर गर्दै तीन वर्ष कैद गर्ने, ३० हजार रुपियाँ जरिवाना तिराउने, १ लाख रुपियाँ क्षतिपूर्ति भराउने र ६ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला गरेको अदालतले जनाएको छ । आरोपित घटनाका बेला सोही वडास्थित लक्ष्मीबल्लभ नरसिङ्ग माध्यमिक बिद्यालयका कार्यालय सहयोगी थिए ।
आरोपितले ०७६ असार १८ गते पीडितकै काकीको सहयोगमा भवन निर्माणको रेखदेखको काम गर्ने मुन्सी बेल्ही चपेनाका मुकेशकुमार मण्डलले बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७६ असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले असार २४ गते उजुरी दर्ता गरी आरोपित महिलालाई सोही दिन गिरफ्तार गरेको थियो । खोजी भएका बेला उपस्थित हुने गरी जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयबाट ०७६ साउन १५ गते गिरफ्तार आरोपित जमानतमा रिहा भएकी थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालयले ०७७ असार १७ गते अदालतमा अभियोगपत्र दायर गरेको थियो । जसमा फरार रहेका अन्य दुई आरोपितको हकमा मुद्दा मुल्तबी राखिएको छ ।