INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्यान्न अभाव भएपछि वितरण स्थगित

जुम्लामा खाद्यान्न अभाव भएपछि वितरण कार्य स्थगित गरिएको छ । गतवर्षको स्वीकृत कोटा भन्दा थप माग गरिएको खाद्यन्न समेत सकिएपछि खाद्यान्न अभाव भएको हो । कारागार, जन्म मृत्यु र भैपरी आउने विपद्का लागि बाहेक नियमित वितरण हुदै आएको चामल सकिएपछि वितरण कार्य साउन २१ गते देखि स्थगित गरिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाले साउन मसान्तसम्म जिल्लामा पुग्ने गरी २ हजार क्विन्टल चामल माग गर्ने निर्णय गरिएको छ । माग गरिएको २ हजार क्विन्टल नआउन्जेल र यस वर्षकाे खाद्यान्न कोटा ढुवानी नहुँदा सम्म जुम्लामा नियमित वितरण स्थगित गर्ने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल विष्टले बताउनु भयो ।

उहाँले भन्नुभयोे  “कारागार,जन्ममृत्यु र विपदको लागि बाहेक नियमित वितरण हुने खाद्यन्न अभाव छ । कारागारका लागि २ सय ८० क्विन्टल, जन्ममृत्युका लागि १सय ८० क्विन्टल र भैपरी आउने विपद्का लागि ५ सय क्विन्टल गरी ९ सय ६० क्विन्टल चामल मात्रै मौज्दात रहेको छ ।”

जिल्लामा नियमित वितरण हुने खाद्यान्न अभाव भएपछि सोमबार सर्वपक्षीय छलफल गरी साउन मसान्तसम्म आइपुग्ने गरी प्रदेश कार्यालयमार्फत केन्द्रमा २ हजार क्विन्टल चामल माग गर्ने निर्णय भएको प्रमुख विष्टले जानकारी दिनुभयो ।

चालु आव २०८०/८१ का लागि जुम्ला शाखा सहित जिल्लाका अन्य डिपोका लागि ९ हजार क्विन्टल वार्षिक कोटा स्वीकृत भएको छ । जसमध्ये सदरमुकाम शाखाका लागि ५ हजार ५ सय क्विन्टल स्वीकृत भएको छ । यस मध्य सर्मी र काईगाउँका लागि १५ सय क्विन्टल जुम्लाबाट पठाउनु पर्ने हुन्छ ।

जुम्लाकोट डिपोका लागि १ हजार क्विन्टल , धाँपा डिपोका लागि १ हजार, पातारासीको लुमका लागि ५ सय, पातरसाँघुका लागि ५ सय र बाजागाड वितरण केन्द्रका लागि ५ सय क्विन्टल गरी चालु आवका लागि जुम्लाभर ९ हजार क्विन्टल खाद्यन्न कोटा स्वीकृत भएको खाद्य तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल विष्टले बताउनु भयो ।चालुको स्वीकृत कोटाको खाद्यन्न ढुवानी हुन समय लाग्ने र तत्काल माग गरिएको खाद्यन्न छिटै पुगे वितरण सुरु गरिने छ उहाँले भन्नुभयो ।

गत आर्थिक वर्ष २०७९/८० का लागि जुम्लामा वार्षिक ६ हजार क्विन्टल स्वीकृत कोटा रहेकोमा अन्तिम सम्म थप ४ हजार क्वीईन्टल माग गरी वर्षमा १० हजार क्विन्टल खपत भएको हो ।
प्रमुख विष्ट भन्नुभयो, “सरकारी अनुदानको चामलको माग अत्यधिक छ । यो सुखद पक्ष हो । स्थानीयले लिएको सबै उपभोग गरे त ठिकै हो । तर लिएर घरमा मौज्दात गर्ने, भोटे समुदायले घरेलु मदिरा बनाउँछन् भन्ने पनि सुनिन्छ । सहि सदुपयोग नगर्ने तर खाने चामल छैन् भन्दै लाईनमा लाग्ने समस्या बढी छ ।”

यसका साथै केहि समयपछि जिल्लाका आठै पालिकाबाट खाद्यले रैथानेबाली खरिद गर्ने भएको छ । पालिकासँग समन्वय गरी आबश्यक मात्रामा रैथानेबाली खरिद गर्ने तयारी छ । यसैबीच छिमेकी जिल्ला मुगुमा पनि खाद्यन्न अभाव भएपछि वितरण बन्द गरिएको छ । असार ३१ गते जुम्लामा नुन नपाएपछि डिपोनै तोडफोड गरिएको थियो । त्यसपश्चात तत्काल वडा वडाबाटै नुन वितरण गर्ने भनिएपनि सबै वडामा वितरण हुन सकेको छैन् ।

नुनको समस्या समधान नहुदैँ जुम्लामा खाद्यन्न अभावको समस्या उब्जीएको छ । व्यवस्था फेरिए पनि कर्णालीमा सधै नुन चालमकै पिरलो हुने गरेको छ । नागरिक अगुवा राज बहादुर महत भन्नुभयो, “जुम्लामा कहिले नुन त कहिले चामल अभाव भइरहन्छ । राज्य कर्णाली प्रति सधै अनुदार छ । स्वीकृत कोटाको नियमित ढुवानी तथा माग गरेको खाद्यन्न तत्काल ल्याउन पहल गर्न जरुरी छ ।”

अन्य

भिडियो