INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङका २ लाख ५० हजार बढी बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप लगाइने 

बालबालिकाले नियमित खोप पाउनु बाल अधिकार हो, सोही बमोजिम जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन गरिने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जिल्लामा साउन २८ गते देखि दादुरा र रूवेलाविरूद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक खेहरू यादवले जिल्लामा दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो ।

यादवका अनुसार पहिलो चरणमा जिल्लाका १६ ओटा स्थानीय तहमा ०८० साउन २८ गतेदेखि साउन ३२ गतेसम्म अभियान सञ्चालन गरिने छ ।

दोस्रो चरणमा विराटनगर महानगरपालिकामा भदौ ११ गतेदेखि १६ गतेसम्म अभियान सञ्चालन गरिने भएको छ ।

जिल्लामा दादुरा र रूवेला रोगको सङ्क्रमण फैलिएका कारण खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय, मोरङका प्रमुख डाक्टर सुरेश मेहेताले बताउनु भयो । डाक्टर मेहताले दादुरा र रूवेलाविरूद्ध खोप अभियानमा ६ महिनादेखि १५ वर्षसम्म उमेर समूहका  बालबालिकाहरू सहभागी हुने बताउनु भयो ।

दादुरा र रूवेलाविरूद्ध खोप अभियानमार्फत जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अभियान सञ्चालनका लागि जिल्लाभर १ हजार ७३ ओटा खोपकेन्द्रको व्यवस्था गरिएको छ ।

विद्यालय जाने बालबालिकालाई विद्यालयमा पनि खोप केन्द्र राखिएको स्वास्थ्य कार्यालय, मोरङले जनाएको छ ।

‘बालबालिकाले नियमित खोप पाउनु बालअधिकार हो’ जिल्ला स्वास्थ्य कार्यालय, मोरङका प्रमुख डाक्टर सुरेश मेहेताले बताउनु भयो ।

नियमित खोप कार्यक्रमबाट छुटेका बालबालिकाहरूलाई पनि दादुरा र रूवेलाविरूद्ध खोप अभियानमा समेट्ने लक्ष्य राखिएको छ ।

अन्य

भिडियो