नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ ।
प्यूठान नपा-४ बिजुवारमा सवारीधनी बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा असार १२ गते राति तोडफोड भएको थियो । उक्त गाडीमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेको एमालेले आरोप लगाएको छ ।
माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रकाश अधिकारीले आफ्ना कार्याकर्ताले त्यसो नगरेको भन्दै एमालेले झुठा आरोप लगाएको बताए ।
प्यूठान नगरपालिका-४ खमल्दि बस्तीमा स्थानीयलाई भेला गरी मत प्रभावित पार्ने गतिविधि गरे लगत्तै विजुवार मित्रमणी चोकमा माओवादी कार्यकर्ताहरूले प्रदर्शन समेत गरेको एमालेको आरोप छ ।
‘माओवादीका केन्द्रिय कार्यालय सदस्य मणि थापासहितको टोलीले हुलदङ्गा गर्यो ।’-एमाले प्यूठान नगरपालिका निर्वाचन परिचालन कमिटिका संयोजक विजयविराज विष्टले भने-‘सुनियोजित रूपमा एमाले कार्यकर्तामाथि आक्रमणको प्रयास गर्दासमेत स्थानीय प्रहरी मुकदर्शक थियो ।’
मौन अवधिको समयमा माओवादी केन्द्रले प्रचार कार्य गरेर आचारसंहिता उल्लङ्घन गरेको एमालेले आरोप लगाएको छ ।