धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य धनगढी उमनपा-१२ जुगेडाका २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बम पड्किएर गम्भीर घाइते भएका सिंहलाई उपचारको लागि सेती अञ्चल अस्पतालमा लगिएको थियो । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको र उपचारको क्रममा ११ः४० बजे सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अर्जुन चन्दले बताए ।
प्रहरीलाई चुनौती दिने, उम्मेदवारहरूलाई आतङ्कित पार्ने र मतदाता तथा आम नागरिकमा त्रास फैलाउने मनसायले उनले बम विष्फोट गराउन खोजेकोमा पहिल्यै बम विस्फोट भएर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
बम विष्फोटपछि स्थानीय बासिन्दाहरू त्रासित भएर घरभित्रै लुकेर बसेको र प्रहरी आएपछि मात्रै घर बाहिर निस्किन सकेको स्थानीयबासी राजकुमार खड्काले बताए ।