INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थाहरुले प्रसूती सेवामा शुल्क लिनेगरेपछि सेवाग्राही मार्कामा

नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बापत कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको भए पनि जिल्लास्थित सरकारी स्वास्थ्य संस्थाहरुले प्रसूती सेवा बापत पनि शुल्क लिनथालेपछि सेवाग्राही मार्कामा परेका छन् ।

जिल्लास्थित स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बापत शुल्क लिने गरको पाइएको छ ।

जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एक पटक गर्भवतीले भिडियो एक्सरे गरे बापत ४ सय रुपियाँ र चेकजाँच गर्न आएका गर्भवती र सुत्केरीबाट पनि रसिद काटेरै शुल्क लिने गरेको सेवाग्राहीले गुनासो गर्नु भएको छ ।

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ र ३ मा सम्पूर्ण सेवा निःशुल्क भनिएको छ । निर्देशिकामा “सेवाग्राही महिलालाई आवश्यक पर्ने सम्पूर्ण प्रयोगशाला जाँच, औषधी, उपकरण र सामान खरीद गरी सेवाग्राहीलाई अनिवार्य रुपमा निःशुल्क सेवा उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

निर्देशिकामा सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवाग्राही महिलालाई औषधी, उपकरण, सामान, प्रयोगशाला शुल्क वा सेवा आदि बापत कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरेको भएपनि जिल्लास्थित सरकारी स्वास्थ्य संस्थामा त्यसको कार्यान्वयन नभएका पाइएका छ ।

जिल्ला अस्पताल, बाजुराका स्टाफ नर्स निशा रोकायले गर्भवतीहरुको सम्पूर्ण चेकजाँच निःशुल्क गरिने पर्नेमा जिल्ला अस्पतालमा भिडियो एक्सरे गरेबापत रकम लिने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कम्तिमा चार पटक नियमित गर्भजाँचका बेला निःशुल्क तथा अनिवार्य गर्नु पर्ने हो । तर, हुन सकेको छैन् । धेरै अगाडिदेखि नै शुल्क लिने गरिएको छ ।’

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले पनि गर्भवती चेकजाँच बापत रकम लिने गरेको छ । बुढिनन्दा नगरपालिका–५ की डम्मरा बम मल्लले गर्भजाँच अन्तर्गत भिडियो एक्सरे बापत ४ सय रुपियाँ तिरेको वताउनु भयो । उहाँले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गराउनु भएको थियो ।

सरकारले कार्यनिर्देशिका बनाएर निःशुल्क सेवा दिने व्यवस्था गरेको भए पनि कार्यान्वयन नहुँदा स्थानीय सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय रबिन्द्र रोकायाले वताउनु भयो ।

आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्यप्रति संवेदनशिल नभएका ग्रामिण क्षेत्रका धेरैजसो गर्भवतीहरुले अहिले पनि नियमित गर्भजाँच नगर्ने गरेको रोकायले बताउनु भयो ।

जिल्लामा २०७६ सालदेखि २०७९ सालसम्म १२ जना सुत्केरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयमा तथ्याङ्क छ । समयमै उपचार नपाउँदा महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक आमेजङ्ग शाहीका अनुसार प्रत्येक महिनाको १२ र १३ गते निःशुल्क सेवा दिने गरिएको र अन्य समयमा भिडियो एक्सरे गरेबापत ४ सय रुपियाँ लिने गरेको वताउनु भयो ।

भिडियो एक्सरे चिकित्सकले जाँच गर्ने भएकोले स्वास्थ्य व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क लिने गरेको उहाँको भनाइ छ ।

जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी नृपराज गिरीले भिडियो एक्सरे बापत शुल्क लिने गरेको स्वीकार जानकारी भएपछि आगामि दिनमा गर्भवती तथा सुत्केरीहरुको चेकजाँच निःशुल्क गर्ने बताउनु भयो ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थय सेवा निःशुल्क प्राप्त गर्न हक हुने छ र कसैलाई पनि आकस्मीक सेवाबाट वञ्चित नगरिने व्यवस्था गरिएको भए पनि जिल्लामा प्रसूती सेवामा समेत शुल्क लिने गरिएको छ ।

अन्य

भिडियो