INSEC Online

📅 २०८३ जेष्ठ २१

सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई सास्ती

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था भएता पनि स्थानीयहरुले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन्

महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा मानसिक तथा टाउँकोका रोगबाट पीडित भएका व्यक्तिहरुले सास्ती खेप्नु परेको छ ।

महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा विगत दुई वर्षदेखि भारतको खटिमा र कैलाली जिल्लास्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान गर्न बाध्य हुनुपरेको मानसिक रोगबाट ग्रसित भिमदत्त नगरपालिका–१८ गोबरैयाकी ५० वर्षीया भागरथी चन्दले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘ दुई वर्षदेखि कहिले भारतको खटिमा कहिले सेती प्रादेशिक अस्पतालमा धाउन बाध्य छु । जान आउन नै समस्या छ । बिरामीको अत्याधिक चाँपले गर्दा पालो आउदैन् । पालो कुर्नका लागि बास नै बस्नु पर्छ । टाँढा भएकोले कुरुवा पनि लग्नु पर्ने भएकोले खर्च जुटाउन नै समस्या हुने गरेको छ । आफ्नै जिल्लाको अस्पतालमा सुविधा भएको भए राहत हुन्थ्यो ।’

गृह जिल्लामा सिटी स्क्यान सेवा सञ्चालन नगरिएको कारण आर्थिक अवस्था दयनिय भएको आफ्नो परिवारले थप आर्थिक भार बोक्नु परेको भीमदत्त नगरपालिका–१८ सुकुम्बासी टोलकी हरिना दमाईले गुनासो गर्नु भयो ।

उहाँले आफनो १८ वर्षीय छोरा भरत दमाई विगत तीन वर्षदेखि टाउँकोको रोगबाट पीडित भएको र टाउँकोमा पानी जम्ने भएकोले समय समयमा सिटी स्क्यान गर्न भारत तथा कैलाली लैजानु पर्ने बाध्यता भएको बताउनु भयो ।

बेदकोट नगरपालिका–१० सुन्दरपुरका धनसिंह धामीले जिल्लामा सिटी स्क्यान सुविधा नहुँदा चर्काे आर्थिक भार बहन गरेर जिल्ला बाहिर गएर उपचार गराउन बाध्य हुनु परेको गुनासो गर्नु भयो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले सिटी स्क्यान सेवाका लागि प्रदेश र संघीय सरकारलाई पत्रचार गरिएको भए पनि उहाँहरुले मेसिन जडानका लागि बजेट विनियोन नगरिदिएका कारण समस्या भएको तर यसै  आर्थिक वर्षदेखि सेवा सुचारु गर्न पहल भइरहेको बताउनु भयो ।

उहाँले विभागबाट अनुमती पाए लगत्तै सिटी स्क्यान मेशिन जडान गरी सेवा सञ्चालन गर्ने योजना रहेकोले मानसिक तथा टाउँकोका रोगबाट पीडित भएकाहरुले भेग्नु परेको आर्थिक भारमा समेत कमी आउने बताउनु भयो ।

अन्य

भिडियो