इलामलाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरिएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान पुरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा साउन १० गते घोषणा गरिएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ ।
बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि जिल्ला सुनिश्चित देखिएपछि सरकारले पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरेको हो ।
यसअघि खोप अभियानबाट छुटेका बालबालिकाका लागि ०८० वैशाख महिनामा पूर्णखोप अभियान चलाइएको थियो ।
सो अभियानमा जिल्लाभरिमा १५ जना बालबालिका खोप लगाउन छुटेको पाइएको थियो । २ सय ८६ जना बालबालिकाले आंशिक खोप लगाएको पाइएको छ । यी सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गङ्गाधर पण्डितले बताउनु भयो ।
जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा गर्नुपर्छ ।
यो अवधिमा खोप पूरा नगरेका ५९ महिनामुनिका सबै बालबालिका खोजेर खोपको डोज पुरा गरिएको पण्डितले बताउनु भयो ।
जिल्लामा अहिले १५ महिनासम्मका ४ हजार ७ सय ६६ जना बालबालिका छन् । १६ देखि ५९ महिनाका ११ हजार ६ हजार ६ जना बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला खोप समन्वय समिति प्रमुख तथा जिल्ला समन्वय प्रमुख जयप्रकाश राई, इलाम नगरपालिका प्रमुख केदार थापालगायतको सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।