असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सन्दर्भमा बुटवलमा नेकपा एमालेको बृहत सभामा शङ्कास्पद विस्फोटक वस्तु फेला परेको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले संबोधन गर्ने कार्यक्रमस्थलदेखि २० मिटर पर ‘होक्स बम’ फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले ‘होक्स बम’ जस्तो देखिने वस्तु भएको जानकारी दिए । डिएसपी मरासिनीले यो एउटा निर्वाचनमा मतदाताहरूलाई तर्साउन गरिएको अपराधिक मनोवृत्तिको ‘प्रपोगाण्डा’ भएको भन्दै यस्ता कार्यमा संलग्नहरूको खोजी कार्य भइरहेको बताए ।

होक्स बमलाई नेपाली सेनाको २२ नं बाहिनीको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । घटनामा कुनै मानवीय र भौतिक क्षति नभए पनि स्थानीय मतदाताहरूमा त्रास भने छाएको छ ।
अहिलेसम्म रुपन्देहीमा यस्ता खालका चार ओटा घटनाहरू भएको र ती सबै घटनामा एमालेलाई लक्षित गरिएको प्रहरीको भनाइ छ ।

त्यसैगरी महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको सोमनाथ पुल नजिक बम विस्फोट हुँदा नेकपा मओवादीका दर्जनौ कार्यकर्ताहरू घाइते भएका छन् । घाइतेहरूमध्ये पाँच जनालाई लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको र २० जना सामान्य घाइते रहेको माओवादीका स्थानीय नेता खडक बस्नेतले इन्सेक प्रतिनिधिलाई बताए ।

अस्पतालमा ल्याइएका पाँच जनामा सुनवल नपा-१२ का ४४ वर्षीया मीना चौधरी, सोही गाउँकै ४१ वर्षीया बेलाकुमारी कठोरिया थारु, १४ वर्षीय बालक श्रीकान्त केवट, ४५ वर्षीया फूलकुमारी चौधरी र ४२ वर्षीय लेखनाथ सुवेदी रहेका छन् । पाँच जनामध्ये सोमनाथ सुवेदी र बेलाकुमारी चौधरीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेको टाउकोमा गहिरो चोट लागेकोले भैरहवा मेडिकल कलेजमा ‘रिफर’ गरिएको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ ।
