INSEC Online

📅 २०८३ जेष्ठ २१

सशस्त्र प्रहरी अधिकृतका लागि आयोजित मानव अधिकार प्रशिक्षक प्रशिक्षण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको संयुक्त आयोजनामा सञ्चालित मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम असार २९ गते काठमाडौँमा सम्पन्न भएको छ । एक सातासम्म सञ्चालित उक्त तालिममा सशस्त्र प्रहरीका डिएसपी, इन्स्पेक्टर, सई र असई गरी २५ जनाको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा सञ्चालित तालिमको समापन सत्रमा सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेलले तालिममा सिकेका कुरालाई मानव अधिकार संरक्षणका लागि उपयोग गर्न सहभागीलाई अनुरोध गर्नु भएको छ । उहाँले  कार्यस्थलमा खटिने क्रममा मानव अधिकार पालनाका लागि यो तालिम फलदायी हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

photo20230714kathmandu

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकार शिक्षाका लागि काम गर्दै आएको इन्सेकले सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै आएको बताउनु भयो । उहाँले यस्ता तालिमले मानव अधिकारको संरक्षणका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।

मानव अधिकार शिक्षाका लागि इन्सेकसँग थुप्रै अनुभव रहेको बताउँदै इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले सशस्त्र प्रहरीसँगको सहकार्यमा मानव अधिकार प्रशिक्षक प्रशिक्षण सञ्चालनले सहकार्यको ढोका खोलेको बताउनु भयो ।

तालिममा मानव अधिकार: अवधारणा, प्रकृति र विकास, मानव अधिकारका राष्ट्रिय संस्थाको भूमिका र कार्य, मानव अधिकार र मानवीय कानुनका मुद्दाहरू, नेपालमा यातना र यसको अभ्यास, नेपालमा मौलिक मानव अधिकार: संरक्षण संयन्त्र र उपचार, नेपालमा संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया, मानव अधिकार र नेपालको अन्तर्राष्ट्रिय दायित्वहरू, अत्यधिक बल प्रयोगको सिद्धान्त र अभ्यास, निष्पक्ष परीक्षण र न्यायिक प्रशासनमा प्रहरीको भूमिका, लैङ्गिक न्याय र महिला विरुद्ध हिंसा, बाल अधिकार र बाल न्याय, प्रहरी र मानव अधिकार: सम्भावना र चुनौतीहरू, नेपालमा मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि नागरिक संस्थाको भूमिका, प्रकोप र मानव अधिकार, शरणार्थी र सीमापार मुद्दा र सशस्त्र प्रहरी बल-नेपालको भूमिका, मानव अधिकार प्रलेखीकरणलगायतका विषय समेटिएको थियो ।

photo20230714kathmandu1

उक्त विषयहरूमा इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारी, गैरसरकारी संस्था महासङ्घ नेपालकी उपाध्यक्ष भावना भट्ट, सञ्चारकर्मी आरती चटौत, सशस्त्र प्रहरीका एसएसपी युवराज अर्याल, मानव अधिकार विज्ञ अच्युत आचार्य, अधिवक्ता रविन्द्र भट्टराई, मानवअधिकारकर्मी शोभाकर बुढाथोकी, तारक धिताल, श्रीराम अधिकारी, सम्झा श्रेष्ठ, मदन पौडेल, कृष्ण गौतम, रमेशप्रसाद तिमल्सिना, दीपा दिक्षितलगायतले सहजीकरण गर्नु भएको छ । फोटो सौजन्यः सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, काठमाडौँ

अन्य

भिडियो