काम गर्न शरीरले सक्दैनन्, कमाएर दुई चार पैसा दिने कोही छैन् । बेसाहारा जस्तै बनेको छ, वीरेन्द्रनगर–१० की सुस्मिता बोहोरा (नाम परिवर्तन) । उमेरले छेकेको पनि होइन् केही गर्ने हुटहुटी मनमस्तिष्कमा नभएको पनि होइन् । तर शरीरिक अशक्तताका कारण उहाँको दिनचर्या कहाली लाग्दो छ । सानै देखिको शारीरिक अशक्तता पनि होइन् । उमेरले अहिले ३८ वर्ष पुग्नुभयो । शारीरिक रुपमा तनदुरुस्त हुनुहुन्थ्यो । २०७२ सालमा भेरीगंगा नगरपालिका –९ का झुपे बोहोरासँग उहाँको प्रेम विवाह भयो । सुरुका दिनचर्या हाँसीखुसी नै बिते सुस्मिताका । पतिले दिने माया ममतामा कुनै कमी भएन् । विवाह गरेको चार वर्ष सम्म घरपरिवार सबै राम्रै चलेको थियो । चार वर्षपछि उहाँका पति झुपेले मानसिक यातना दिन सुरु गर्नुभयो । सुस्मिताका पति पछि विस्तारै मानसिक मात्र नभएर शरीरिक यातना समेत दिन थाले । सुस्मिताले सामान्य खेतीपाती गरेर दैनिकी गुजारा गर्दै आउनुभएको थियो । दिनभरी घर धन्दा, खेतबारीको काममा व्यस्त हुनुहुन्थ्यो । साँझपख थकित शरीरि लिएर घरमा पुग्दा सधैँजसो पतिको कुटाइ खानुपर्ने बाध्यता थियो । सुरु सुरुका दिनमा साह्रै गाह्रो भयो सुस्मितालाई । प्रत्येक दिन पतिको कुटपिटले उहाँ शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा विक्षिप्त भइसक्नु भएको थियो ।
प्रत्येक मदिरा सेवन गरेर घर पुग्ने गरेका झुपेले सुस्मितामाथि हात र मुक्का प्रहारले सुस्मिताको शरीर एकदम कमजोर भइसकेको थियो । राम्रो सँग काम गर्न सक्ने अवस्था थिएन् । तर पनि सुस्मिताले श्रीमानलाई सम्झाउने बुझाउने प्रयास नगरेको भने होइन् । तर पनि उहाँको पतिको दैनिकीमा कुनै परिवर्तन आउन सकेन् । यसरी नै दिन वित्दै गए । ०७९ फागुन २२ गते साझँ ११ बजेको समय सुतिरहेको बेला मदिरा सेवन गरी उहाँका पति झुपेले सुस्मिता ज्यान लिने प्रयास गरे । पीडित सुस्मितालाई ज्यानमार्ने भन्दै घरको दुइतला माथिबाट धकलेर भुइमा लडाइदिए । सुस्मिता बेहोस थिइन् । झुपेले सुस्मिालाई बल्याङकोट ओडाएर त्यहाँबाट भागे । सोही घटनाका विषयमा छिमेकीलाई थाहा भएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उहाँको प्रदेश अस्पतालमा उपचार भयो ।
सुस्मिताको सामान्य उपचार त भयो । तर हात, खुट्टा र ढाडले राम्रोसँग काम गर्न मिल्दैन् । साह्रै पीडा हुन्छ । सुस्मिता अहिले जिल्ला अदालत सुर्खेतको ढोका वरिपरि भेटिनु हुन्छ । कारण पतिसँगको सम्बन्ध विच्छेद । सुस्मिता र झुपेको प्रेमबाट विवाहमा परिणत भएको सम्बन्ध अहिले अदालतमा गएर टुङगिदैछ ।
यस्तै गरी, बराहताल गाउँपालिकाकी अनु विक अन्जानमा १५ वर्षकै उमेरमा विवाह भयो । सुरुमा त सम्बन्ध राम्रै थियो । १६ वर्षको उमेरमा उहाँले जेठो छोरालाई जन्मदिनु भयो । जब जेठो छोरो सन्दिप विकको जन्म भयो । त्यसपछि उहाँका कहालीलाग्दा दिन सुरु भए ।
पतिले मदिरा सेवनन गरेको दिन हुन्थेन् । दिनहुँ जसो मदिरा पिएर कुटन् थाले अनुका पति रविन्द्र विकले । अनु मरणासन्न हुने गरी कुटिनुहुन्थ्यो । तर पनि जिवन साथी हो भन्ने कुरा भुल्न सक्नु भएन् । र पतिकै साथमा बसिरहुनु भयो । जेठो छोरा जन्मिएको डेढ वर्षपछि माइलो छोरा रविन्दको जन्म भयो । तर उहाँका पतिले अनुलाई कुटपिट भने गर्न छाडेनन् ।
यो अवधिमा अनुका पति रविन्द्रले घरबाट निकाल्नलाई धेरै प्रयास गरे । तर अनुले घर छोड्न मान्नुभएन् । कहाँजाने ?जाने ठाउँ छैन, ‘उहाँले भन्नुभयो, मारे पनि यही घरमा मर्छु भन्ने लागेर घर छोड्न सकिन ।’ यसरी नै दिनवित्दै थिए साइलो छोरो र काइलो छोरा सन्तोषको जन्म भयो । अझ पनि उहाँका पति रविन्द्र विकले अनु माथि कुटपिट गर्न छाडेनन् । तर पनि अनुले हिम्मत हार्नु भएन् । छोराहरूको भविष्यको चिन्ताले पनि ती पीडा सहजै स्वीकार गर्दै आउन बाध्य हुनुभयो ।
उहाँ माथि हुने शारीरिक हिंसा मात्र होइन् । यौन हिंसा समेत भोग्न बाध्य हुनुभएको थियो । दिनहुँ जसो मदिरा सेवन गरी राती १२÷१ बजे घर आउने पतिको दैनिकी नै थियो । दिनहुँ शरीरिक यातना तथा यौन यातना भोग्ने क्रम जारी नै थियो । कयौँ पटक मरेर बाचेको उहाँ सुनाउनु हुन्छ । पटक पटक म माथि ज्यान मार्ने प्रयास भयो, तर पनि म बाच्न सफल भए, ‘उहाँ बताउनुहुन्छ ।’
यसै क्रममा २०७९ वैशाख २५ गते राती उहाँको शरीर माथि सब्बल प्रहार भयो । उहाँ बेहोस हुनुभयो । अस्पतालसम्म पु¥याउने आफ्नो मान्छे थिएन् । छिमेकी दिदी बहिनीको सहयोगमा बिहान होस खुलेको उहाँ बताउनुहुन्छ । उहाँको कर्णाली प्रदेश अस्पतालमा उपचार भयो । तर गाह्रो काम गर्न सक्ने अवस्था छैन् ।
अनु अहिले मानसिक कमजोर मात्र होइन् पतिले दिएको यातनाका कारण उहाँ अशक्तता जस्तै बन्नु भएको छ । शरीरका कुनै पनि अंगले राम्रोसँग काम गरेर खान सक्ने अवस्था छैन् । दैनिक ज्याला मजदुरी गर्न जानुहुन्थ्यो तर शरीरले नसकेपछि सहयोगको अपेक्षामा भौतारिनु भएको छ ।
सुर्खेतका प्रतिनिधि पात्र हुन् । यी र यस्ता खालका घटनाबाट कर्णालीका महिला दिनप्रतिदिन पीडित बन्दै गएका छन् । भौगोलिक रुपमा विकटता अशिक्षा गरिबी जस्ता मुख्य कारणले पनि दिनप्रतिदिन कर्णालीमा महिलामाथि हुने घरेलु हिंसामा कमी आउन सकेको छैन् । पुरातन सोचाइका कारण महिला पीडित बनेका हुन् ।
यति मात्र नभएर महिलामाथि हुने घरेलु हिंसाका घटना बढ्नुमा बहुआयामिक कारण रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त्ता गोपाल भन्द्र भट्राइले बताउनु भयो । कर्णालीमा आर्थिक, सामाजिक, सचेतनाको कमी मादकपदार्थको बढ्दो मात्राका कारण कर्णालीमा वर्षेनी महिलामाथि हुने गरेका घरेलु हिंसाको दर बढेको बताउनुभयो । महिला आर्थिक रुपमा परनिर्भन हुनुपर्ने भएको आफ्ना आधारभुत आवश्यक पुर्ति गर्नका लागि कतिपय महिला हिंसाबाट प्रभावित हुने गरेको प्रवक्त्ता भट्राइले जानकारी दिनु भयो ।
कर्णालीमा आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४ सय ४९ महिलाले घरेलु हिंसा भोग्न बाध्य छन । त्यसै गरी आर्थिक वर्ष ०७८/०७९ मा कर्णालीमा १ हजार ४ सय ५७ घरेलु हिंसाका घटना भएका छन् । जसमा सबैभन्दा धेरै सुर्खेतका महिला बढि प्रभावित भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षको हालसम्म १ हजार २ सय महिलामाथि घरेलु हिंसा भएको छ । घरेलु हिंसा कै कारण आर्थिक विगत तीन वर्षमा २ सय ९९ जना महिलाले आत्महत्या गरेको र ४ सय ९४ महिला तथा बालिकामाथि जबरजस्तीकरणी भएको छ ।
महिलामाथि हुने यस्ता खालका घटनामा कमी ल्याउनका लागि संघीयता कार्यान्वयनका क्रममा बनेका स्थानीय तह सक्रिय हुनुपर्ने र स्थानीय स्तरमा महिलालाई आर्थिक रुपमा सक्षम बनाउन सकेमा महिलामाथि हुने यस्ता खालका घरेलु हिंसा न्युनिकरणमा सहयोग पुग्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त्ता भट्राइले बताउनु भयो ।
कर्णालीमा सबै भन्दा धेरै महिला तथा बालबालिका पीडित हुने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो । इन्सेकले सार्वजनिक गर्ने गरेको तथ्याङ्कमा पनि महिला र बालबालिका नै धेरै प्रभावित हुने गरेको उहाँको भनाइ छ । महिलामाथि हुने गरेका हिंसा न्युनिकरणका लागि सम्बन्धित निकायले हिंसा हुनुको मुख्य कारण खोजी यसको निराकरणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । बनाइएका कानुनको पुर्णरुपमा पालन गर्न सकेमा महिलामाथि हुने गरेका विभिन्न खालका हिंसामा कमी आउन सक्ने उहाँको आँकलन छ ।
महिला विरुद्धका सबै प्रकारका भेदभावको अन्त्यका लागि भएका कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन नहुनु विभेद र हिंसाबाट महिलाको संरक्षणका लागि भएका प्रयत्नहरू पर्याप्त नहुनु, घरेलु हिंसाका घटनाका उजुरी दर बढदो छ तर पनि धेरै घटना लुकेर रहेको अवस्था ,आमाको नामबाट जन्मदर्ता तथा नागरिकता दिलाउन अझै समस्या भएको,समान कामको असमान ज्याला, हानिकारक परम्परागत अभ्यासहरू तथा कुरितिजन्य हिंसाहरू, विभेद तथा लैङ्गिक विभेद, घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, कथित बोक्सीको आरोप, सरकारी निकायबाट सुरक्षित आवास गृहको व्यवस्था नहुनुले महिला पीडित हुदै आएको संयोजक सुवेदीले बताउनुभयो ।
इन्सेकको तथ्याङ्क अनुसार कर्णालीमा पाँच वर्षको अवधिमा १ हजार १ सय ४३ महिला हिंसाका घटना घटेको तथ्याङ्क छ । मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक पुर्व समीक्षामा सार्वजनिक भएको तथ्याङ्क अनुसार सुर्खैतमा महिला हिंसाका ४४ ओटा घटना भएका छन् ।
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी महासन्धि १९७९ ले महिला विरुद्धका सम्पुर्ण भेदभावलाई प्रतिबन्ध लगाउन व्यवस्थाकिय तथा अन्य उपायहरु अपनाउने तथा आवश्यक भएका दण्ड सजायको व्यवस्था गरेको छ ।
यसैगरी घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ का अनुसार घरेलु हिंसा गरेमा तीन हजार देखि २५ हजार रुपियाँ सम्म जरिबाना ६ महिना कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ भने घरेले हिंसाको उद्योग गरेमा वा प्रोत्साहन गर्ने वा मतियारलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था गरेको छ । साथै पहिला घरेलु हिंसाको कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा पटककै पिच्छे दोब्बर सजाय हुने व्यवस्था छ ।