१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिकरुल मियाँ असार १७ गते गिरफ्तार भएका छन् ।
पीडितकी आमाले आरोपितविरुद्ध जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडितको २०७९ माघ ८ गते भारतको जम्मु कश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीसँग राजगढ गाउँपालिका–२ इनर्वामा बालविवाह भएको थियो । बालविवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाको टोलीले बालिका र उनका पति जिलानी र अन्य दुई जना भारतीय नागरिकलाई माघ १४ गते गिरफ्तार गरेको थियो ।
बालिकाको माघ १४ गते स्वस्थ्य परीक्षण गर्दा गर्भवती भएको पत्ता लागेको थियो । पीडितका पति जिलानी ०८० जेठ १ गते कैद सजाय भोगेर रिहा भएपछि पीडितलाई पत्नी अस्विकार गरेर भारत गए । विवाह भन्दा अगाडिदेखि सम्बन्ध राखेका आरोपित जिकरुलले समेत गर्भ अस्विकार गर्दै फरार भएका थिए ।
आरोपितले आफ्नो घरमा ०७९ मङ्गसिर १ देखि चैत ५ गतेसम्म विवाहको प्रलोभन दिई बलात्कार गरेर गर्भ बसेको पीडितले बताउनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको छ । जिल्ला प्रहरी कार्यालयले ०८० असार १ गते उजुरी दर्ता गरेको थियो । अदालतबाट म्याद थप गर्दै दोस्रो पटक म्याद थप गर्न आउँदा आरोपितको जन्मदर्ता पेश गर्न समेत आदेश गरेको जिल्ला अदालतले जनाएको छ ।