काम गराउन राखिएकी महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा होटल सञ्चालक अछामको पञ्चदेवलबिनायक नगरपालिका–९ भानाकोट घर भइ हाल दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउलामा होटल व्यवसाय गर्दै आएकी ३० वर्षीया शोभा रोकामगरलाई दैलेख जिल्ला अदालतले १७ वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट २७ वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा असार १४ गते उक्त फैसला भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानले जानकारी दिनुभयो ।
होटलमा सरसफाई र खाना पकाउने कामका लागि भनी राखिएकी ती महिलालाई होटल सञ्चालक शोभाले ०७८ कात्तिक ४ गते नौ जनासंग यौन सम्बन्ध राख्न लगाएको भनी पीडित महिलाले दिएको जाहेरीको आरोपमा प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको थियो ।
उजुरी गरेको दिन कात्तिक १२ गते दैलेख अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरियो । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७८ मङ्सिर ७ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा मङ्सिर ८ गते भएको थुनछेक बहसपछि तत्तकालीन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अनुसार जिल्ला कारागारमा राखिएको थियो ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा १५ खण्ड (ख) अनुसार १० वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र दफा १७ बमोजिम पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिराउने फैसलामा उल्लेख छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा १० वर्ष र अर्को ठाउँबाट ल्याई जबरजस्ती यौन कार्यमा लगाउने थप सात वर्ष समेत १७ वर्ष कैद गरेको अदालतका सूचना अधिकारी न्यौपानले जानकारी दिनुभयो ।