अज्ञात समूहले एमाले वडाध्यक्षका उम्मेदवारको घरमा सुतली बम विष्फोट गराएको छ । सो समूहले रुपाकोट मझुवागढी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार ३२ वर्षीय लिला चौहानको घरमा असार ६ गते राति बम विष्फोट गराएको हो ।
विष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी २२ वर्षीया शकुन्तला चौहान घाइते भएकी प्रहरीले जनाएको छ । बम विष्फोटका कारण उनका दुवै गोडा डढ्नुका साथै शरीरका अन्य अङ्गमा चोट लागेको छ । शकुन्तलाको दाहिने गोडाको फिलामा समेत चोट लागेको हुनाले रुपक मेडिकल सेन्टरमा उपचार भएको एमाले जिल्ला नेता दिलचक्र राईले बताए ।
घरको सामुन्ने रहेको भान्छा कोठामा उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको अवस्थामा दुई वटा सुतली बम विष्फोट गराइएको हो ।
पहिलोपल्ट हानिएको बम बिष्फोट नभएपछि तत्काल दोश्रो बम हानिएको चौहान परिवारले जनाएको छ । पहिलो बम नपड्केपछि अत्तालिएर भाग्दाभाग्दै अर्को बम हानिएको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले बताए ।
चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आघा घण्टापछि बम विष्फोट भएको हो । विष्फोटबाट घरमासमेत क्षति पुगेको छ ।
विष्फोटका बेलामा उम्मेदवार चौहानकी आमा भने घरको माथिल्लो तलामा सुतिरहेकी थिइन् । उम्मेदवार चौहानलाई खाना खाइरहेको मौका पारेर बम हान्ने योजना अनुसार घटना घटाइएको एमालेले दावी गरेको छ ।
विष्फोटपछि चौहान परिवारको भागाभाग भएका थियो । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले भने भान्छा घर नजिक सुतली बम विष्फोट गराइएको बताए । ‘दुई ओटा सुतली बम हानिएको जानकारी आएको छ ।’-प्रजिअ पोखरेलले भने-‘विष्फोटमा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।’
विष्फोट नभएको सुतली बम निष्क्रृय पार्नका लागि दिक्तेलस्थित नेपाली सेनाको डिस्फोजल टोली असार ७ गते बिहान घटनास्थल पुगेको छ ।
नेपाल प्रहरीको टोली भने असार ६ गते राति नै पुगेको थियो । उम्मेदवारको घरमा विष्फोट भएपछि नेता तथा कार्यकर्ता आतङ्कित भएका छन् । एमालेले निर्वाचनमा होमिएका आफ्नो नेता तथा कार्यकर्तालाई लक्षित गरेर बम विष्फोट गराइएको दावी गरेको छ । असार ६ गते साँझ नै नेर्पाको भुलभुले आसपासमा पनि विष्फोटको आवाज आएको बताइएको छ ।