जिल्ला कारागार, कैलालीमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राखिएपछि कारागारको व्यवस्थापन र शान्ति सुरक्षामा समस्या भएको छ ।
१ सय ५० जना क्षमता भएको जिल्ला कारागारमा हाल ४२ जना महिला, तीन जना नाबालिक सहित ६ सय ४५ जना राखिएपछि कारागार व्यवस्थापन र शान्ति सुरक्षामा समस्या उत्पन्न भएको हो ।
क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्नु पर्ने बाध्यताले कैदीबन्दीहरुले एउटै कोठामा कोचिएर बस्नु पर्ने र सुत्न, खानेपानी र शौचालय जान पालो कुर्नु पर्ने अवस्था सृजना भएको र प्रशासकीय व्यवस्थापनमा समेत समस्या भएको कारागारका निमित्त प्रमुख लालबहादुर बोगटीले बताउनु भयो ।
उहाँले कारागारमा बिभिन्न अपराधिक मानसिकता भएका तथा अपराधिक घटनामा संलग्न भई जेल जिवन बिताई रहेका कैदीबन्दीबिच बेलाबखत झडप हुने गरेका कारण कारागारको शान्तिसुरक्षामा समेत चुनौती थपिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘लागु पदार्थको घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका कैदीबन्दीको सङ्ख्या बढी रहेकाले लागु औषध भित्रिने गरेको घटना सामान्य जस्तै भइसकेको छ । जेठ २२ गते कारागार भित्र झडप हुँदा झडपमा परी खगेन्द्र बम र सन्तोषसिंह शाही घाइते समेत भए । जसका कारण १६ जना कैदीबन्दीलाई नवलपरासी, सिरहा, सप्तरी, चितवन, महोत्तरी, नेपालगंञ्ज, भैरह्वा जिल्ला कारागारमा सरुवा गर्नु पर्याे । कही कैदीबन्दीहरु जल भित्रै झैझकडा गर्ने गरिरहेका छन् । सम्झाउन खोज्दा उल्टै ज्यान मार्ने धम्की दिने गरका छन् । यसले नियम पालना गर्ने कैदीबन्दी र कारागारमा कार्यरत कर्मचारीहरुले समेत असुरक्षित महसुश गरेका छन् ।’
जिल्ला प्रशासन कार्यालय, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कारागारमा कार्यरत सुरक्षा कर्मचारीहरुको लापर्वाहीको कारण कारागार भित्र शान्ति, सुरक्षा फितलो भएको जानकारीमा आएपछि कारागार सुरक्षा प्रमुख इन्स्पेक्टर चरन बुढा र सई योगेन्द्र बोहरालाई हटाई कर्मचारीमा हेरफेर गरिएको बताउनु भयो ।
उहाँले लागु पदार्थको ओसारपसार तथा पटक–पटक झडपका घटना भइरहेकाले जिल्ला प्रशासनले कारागारको सुरक्षा निगरानी बढाइरहेको र कैदीबन्दीहरुलाई नै आउटडोर र चौकीदार राखेर प्रशासनिक व्यवस्थापन भद्रगोल भएकोले कैदीबन्दीहरुलाई आउटडोर र चौकीदार नराख्ने आदेश जारी गरेको बताउनु भयो ।