१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–१२ का २२ वर्षीय दिलिपकुमार राम ०८० असार ३ गते गिरफ्तार भएका छन् ।
लागु औषध, कुटपिट अंगभंग आरोपमा अनुसन्धानका लागि सिरहाको लहान प्रहरीले गिरफ्तार गरेको आरोपितलाई सप्तरी जिल्लामा दर्ता रहेको बलात्कार मुद्दाका लागि असार ३ गते ल्याइएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका इन्स्पेक्टर चन्द्रकान्त अधिकारीले बताउनु भयो ।
सामाजिक सञ्जाल र फोनबाट पीडितसँग चिनजान गरेका आरोपितले दिदीको घर जाँदै गरेकी पीडितलाई मोटरसाइकलमा लगी दिन्छु भन्दै ०७९ मङ्सिर १३ गते बाटोबाटै सुरुङ्गा नगरपालिका–५ कुशहास्थित डेरामा लगेको पीडितले बताउनु भयो । आरोपितले ५ दिन नियन्त्रणमा राखी पटक–पटक बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा ०७९ मङ्सिर १८ गते उजुरी दिनुभयो । पीडितको ०७९ मङ्सिर १८ गते नै स्वास्थ्य परीक्षण भयो । आरोपित फेला नपरे पछि इलाका प्रहरी कार्यालय कडरबोनाले ०७९ पुस ४ गते उजुरी दर्ता गरेको थियो ।