नागरिकताको माग गर्दै सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गर्ने नागरिकता विहीन सङ्घर्ष समितिसँग आबद्ध ११ जना आन्दोलनकर्मीलाई प्रहरीले ०८० असार ५ गते गिरफ्तार गरेको छ ।

माइतिघर मण्डलामा धर्नामा बसेर आन्दोलन गरिरहेका आन्दोलनकर्मीहरू सर्वोच्च अदालत अगाडि गएर आन्दोलन गर्न खोजेपछि प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई गिरफ्तार गरेको हो ।
प्रहरी गिरफ्तारीमा पर्नेहरूमा मोरङका २५ वर्षीय आशिष पोद्दार, काठमाडौँका ४० वर्षीय महावीर राम, सिराहाका ३५ वर्षीय उत्तम प्रसाद शाह, धनुषाका २२ वर्षीय रोहित शाह, भक्तपुरकी २६ वर्षीया सुहानी खान, तनहुँका २४ वर्षीय आदर्श बानियाँ, बाराका २५ वर्षीय आशदेव यादव, चितवनका २८ वर्षीय आकाश खान, बाराका ३५ वर्षीय जाकिर हुसैन, काठमाडौँका २४ वर्षीय एमडी राज अलि, काठमाडौँका २२ वर्षीय बिनोद बानियाँ रहेका छन् ।
गिरफ्तारीमा परेकाहरूलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ०८० जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत तत्काल कार्यान्वयनमा रोक लगाएपछि नागरिकताबाट वञ्चित भएकाहरू विगत दुई हप्तादेखि नागरिकता पीडित सङ्घर्ष समितिसँग आबद्ध भएर माइतिघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।
