INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको सुझावपछि मतदाता शिक्षामा सुधार

इन्सेक सहितको मानव अधिकारकर्मीको टोलीले भुमिकास्थान नगरपालिकाको खिल्जि र नुवाकोटमा मतदाता शिक्षाको बारेमा अनुगमन गरेपछि मतदाता शिक्षाको बारेमा सुधार आएको मतदाता र जिल्ला निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।

मानव अधिकारकर्मीको टोलीले जेठ २० गते मतदाता शिक्षाको अवस्थाका बारेमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा मतदाताले मतदाता शिक्षाको कमी भएको भन्ने गुनासो गरेपछि सोको बारेमा इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाइ जानकारी गराएका थिए ।

अनुगमनका क्रममा मतदाताले अहिलेसम्म भोट कसरी हाल्ने ? भन्ने सिकाउन नआएको, मतदाता शिक्षा कार्यकर्तालाई नै मतदाता शिक्षाका बारेमा ज्ञान नभएको, घर-घरमा पुगेर निर्वाचन शिक्षा नसिकाएको गुनासो गरेका थिए ।

अघिल्लो पटक मतदाता शिक्षा नपुगेको गुनासो गर्ने सिमा पुनले भनिन्-‘तपाईहरू आएपछि मतदाता शिक्षा कार्यकर्ता घरमै आएर सिकाउनुभयो । अहिले हामीलाई भोट कसरी हाल्ने भन्ने बारेमा थाहा भयो ।’

इन्सेकको सुझावका आधारमा जिल्ला निर्वाचन कार्यालयले सो ठाउँमा पुनः घरघरमा पुगेर मतदातालाई मतदान गर्ने प्रक्रियाका बारेमा सचेत गराउन मतदाता शिक्षा कार्यकर्तालाई निर्देशन दिएकोमा सोको पालना भई अवस्था सुधार भएको जिल्ला निर्वाचन अधिकारी महेश पाण्डेले जानकारी दिए ।

उनले इन्सेकको सुझावपछि खिल्जि र नुवाकोटमा मतदाता शिक्षाका बारेमा स्थानीय टेलिभिजन च्यानल र स्थानीय सञ्चार माध्यबाट सूचना प्रसारण गरिएको बताए ।

अन्य

भिडियो