असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउने उद्धेश्यले एकै स्थानमा एकैपटक जुलुस र आमसभा नगर्नेमा डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरू प्रतिबद्धता जनाएका छन् ।
असार ५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । निमित्त प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस भन्दै विशेष सतर्कताका साथ जिल्लास्थित राजनीतिक दलहरूको उपस्थितिमा सो निर्णय गरिएको हो ।
बैठकले आमसभा, र्याली, जुलुसलगायतका गतिविधिहरूको आयोजना गरिए प्रशासन तथा सुरक्षा निकायमा ४८ घण्टा अगावै खबर गर्ने निर्णय समेत गरेको छ । यस्तै जिल्लास्थित सञ्चालित यातायातका साधनहरूमा पार्टीका झण्डाहरू लगाइएकोप्रति सचेत गराउँदै यस्ता कार्यहरूमा रोक लगाउन सम्बन्धित यातायात व्यवसायी समितिहरूलाई निर्देशनका साथ अनुरोध गर्ने निर्णय समेत गरेको निमित्त प्रमुख जिल्ला अधिकारी करूणकर अवस्थीले बताएका छन् ।
साथै दलहरूले सवारी साधनहरूको प्रयोगका लागि निर्वाचन अधिकृत बाट सिफारिस बनाएर प्रमूख जिल्ला अधिकारीबाट पास लिनुपर्ने निर्णय गरेका छन् ।