कर्णाली प्रदेश सभा अगाडी धर्नामा बसेका दलितका लागि दलित आन्दोलन नेपालका प्रदर्शनकारी र नेपाल प्रहरी बिच असार १ गते झडप हुँदा आठ जना प्रहरी घाइते भएका छन् ।
विभिन्न माग राख्दै दलितका हकहितका लागि आन्दोलन गर्दै आएका दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेश सरकारले ल्याएको बजेट दलित लक्षित नभएको भन्दै प्रदेश सभा नजिक धर्नामा बसेका थिए ।
बजेट भाषण प्रत्यक्ष हेरेका उनीहरुले दलितमैत्री बजेट नआएको भन्दै आक्रोशित बनेका थिए । भाषण सकिए लगत्तै उनीहरुले प्रदेशका मुख्यमन्त्री सहितका अन्य मन्त्री र सांसदहरुलाई बाहिर निस्कन रोक लगाउँदै चर्को नाराबाजी गरेका थिए ।
लाठीसहित आक्रोेशित बनेका उनीहरु र प्रहरी बिच झडप हुँदा जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी योगेन्द्र सिहं थापा सहित ८ जना प्रहरी घाइते भएको र उनीहरुको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण बहादुर शाहीले जानकारी दिनु भयो ।
झडपका क्रममा प्रहरीले प्रदर्शनकारीलाई लखेट्न टिअर ग्यास (अश्रुग्यास) हानेको थियो । प्रदर्शनकारी तर्फ कतिजना घाइते छन् भन्ने केही खुलेको छैन् । आन्दाेलनका अभियान्ता खगेन्द्र सुनार सहित सात जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा सुनार सहित दुई पुरुष र पाँच जना महिला छन् । गिरफ्तार परेकाहरुको नाम भने खुलेको छैन् । प्रदर्शनका नाममा समाजमा अराजकता फैलाउन खोजेको भन्दै उनीहरु विरुद्ध कानुन बमोजिम कारबाही प्रक्रिया समेत अगाडि वढाउने प्रवक्ता शाहीले जानकारी दिनु भयो ।

