पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान भुसाल टोलका दलितबस्तीमा खानेपानीको चरम अभाव भएपछि ३० दतिल परिवारहरु खोलाको पानी खान बाध्य भएका छन् ।
खानेपानीको अभावमा टोलबासी एक घण्टा हिडेर खोलाको पानी ल्याएर खानु पर्ने बाध्यता रहेको स्थानीय भीमसेन क्षेत्रीले जानकारी दिनु भयो ।
खानेपानीका लागि वडा, स्थानीय सरकार, नेतासँग भेटघाट गरी अनुरोध गरिदै आइएको भए पनि चुनावका बेलामा बाहेक अन्य बेलामा कसैले पानीका लागि पहल नगरेको स्थानीय मन नेपालीले दुखेसो पोख्नु भयो ।
उहाँले हिँउदमा हरेक वर्ष खानेपानीको अभावले खाना पकाउन, भाँडाकुडा धुन, शौचालय प्रयोग गर्न, लुगाकपडा धुन र नुहाउनमा सकस हुने गरेको बताउनु भयो ।
पहुँच हुनेले घरघरमा धारा जोडेको भए पनि दलितबस्तीमा खानेपानीको धेरै समस्या रहेको स्थानीय बखतबहादुर शाहीले बताउनु भयो ।
उहाँले गैरदलित टोलमा खानेपानीले तरकारी समेत लगाउने गरिएको भए पनि दलितबस्तीमा पिउनलाई समेत पानी नभएको बताउनु भयो ।
पहुँच भएकाले आफैले पाईप जोडेर घरघरमा पानी ल्याएको र भुसाल टोलमा खानेपानीको समस्या भएको वडाध्यक्ष हर्कबहादुर बडुवालले बताउनु भयो ।
खानेपानीको अभाव भएका टोलहरुमा पानी पुर्याउनका लागि खानेपानीका मूलहरु सर्वे भएर उपभोक्ता समिति बनाउने तयारीमा रहेको र नगरपालिकामा छलफल गरेर बजेट छुट्याउन पहल गरिरहेको नगरका कार्यपालिका सदस्य समेत रहनुभएका वडाध्यक्ष बडुवालको भनाइ छ ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्र्तगत धारा ३५ मा स्वास्थ्यको हक अन्तर्गत प्रत्येक नागरिकलाइ स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था समेत गरिएको छ ।