दोस्रो चरणको चुनावमा निर्वाचन हुन बाँकी तीन गाउँपालिकाका ३१ ओटा मतदान स्थलहरू सम्वेदनशील रहेका छन् ।
चार ओटा मतदान स्थल सम्वेदनशील र २७ ओटा अति सम्वेदनशील मतदान स्थललाई सुरक्षा निकायले उच्च निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुकुम जिल्लाको-५ नम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका-३१ मतदान स्थलमध्ये चार ओटा मतदानस्थल सामान्य रहेपनि २७ ओटा मतदान स्थललाई अति सम्वेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थानलाई अति सम्वेदनशील मानिएको प्रहरीको भनाइ छ ।
ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङ्गुर जिसीले बताए । उनका अनुसार एउटा बुथमा कम्तीमा १५ म्यादी प्रहरी, सात जना नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ ।
भौगोलिक रूपले विकट रहेका कारण नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ । यसका साथै विकटताका कारण मतदाता सहज रूपमा मतदान केन्द्रसम्म आउन समस्या हुने, राजनीतिक दलबिच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिन सक्ने भएकाले पनि सुरक्षा व्यवस्था निकै कडा पारिएको उनले बताए ।