भोक्राहा नरसिंह गाउँपालिका–१ स्थित शारदा माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत चार जनालाई बालिकालाई शिक्षकले अचेत हुनेगरी कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
शारदा माविमा कक्षा सातमा अध्ययनरत भोक्राहा नरसिंह गाउँपालिका–१ की १३ वर्षीया सुस्मिताकुमारी ठाकुर, १२ वर्षीया पूजा मुखिया, १३ वर्षीया अञ्जु उराव र १२ वर्षीया अस्मिता मेहतालाई जेठ २८ गते ४० वर्षीय शिक्षक अशोक मेहताले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
अत्यधिक गर्मीका कारण कक्षा कोठामा बस्न नसकिएकाले पङ्गखाको माग गर्दा शिक्षक अशोक मेहताले अचेत हुने गरी कुटपिट गरेको पीडित बालिका सुस्मिताकुमारी ठाकुरले बताउनु भयो ।
कक्षा कोठामा बस्न नसकेर विद्यालयको चौरमा बसिरहेको अवस्थामा आरोपित शिक्षक मेहताले मुक्का र डस्टरले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।
आरोपित शिक्षकले कुटपिट गरेको स्वीकार गर्नु भएको छ । शिक्षक मेहताले विद्यार्थीले अटेर गरेकाले डर देखाउने हिसाबले कुटपिट गरेको भएपनि अचेत हुनेगरी कुटपिट नगरेको बताउनु भएको छ ।
कुटपिटको विषयलाई लिएर पीडित विद्यार्थी र अभिभावकले आरोपित शिक्षक मेहतालाई जेठ २८ गते कारबाहीको माग गरेका छन् ।
घटनाका विषयमा विद्यालयका प्रधानाध्यापक रामुप्रसाद मेहताले शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको तर अचेत हुनेगरी कुटपिट गरेको अस्वीकार गर्नु भएको छ ।
कुटपिटबाट बालिकाको अनुहारमा चोट लागेको स्वास्थ्यकर्मी उमेश मेहताले बताउनु भयो । कुटपिट सामान्य भएपनि वयस्क मानिसले हातपात गरेका कारण बालिकाहरू डर त्रासका कारण अचेत भएको हुनसक्ने स्वास्थ्यकर्मी मेहताको भनाइ छ ।
कुटपिटबाट घाइते भएका चारै जना पीडितको उपचार स्थानीय क्लिनिकमा जेठ २८ गते गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक र पीडित बालिकाबिच जेठ २९ गते विद्यालयमा भएको छलफलमा आरोपित शिक्षकले माफी मागेपछि कानुनी कारबाही अघि नबढाउने शर्तमा मिलापत्र गरिएको शारदा माविका प्रधानाध्यापक रामुप्रसाद मेहताले बताउनु भएको छ ।